काली मार्सी धान फलाउने जुम्लाकाे छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

 फागुन १०, २०७७ सोमबार १२:२५:३६ | रासस
unn.prixa.net

जुम्ला - जुम्लाको पातारासी गाउँपालिकामा रहेकाे छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ ।

नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च ठाउँमा काली मार्सी धान धान फल्ने छुमचौर नयाँ गन्तव्यको सूचीमा परेको हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो ।

मन्त्रालयले देशभरका २०० पालिकामा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ । पर्यटन गन्तव्य सूची छनोट गर्नुकासाथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने काली मार्सी धानको संरक्षण तथा सम्वर्द्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले ६० लाख रुपैयाँ र मन्त्रालयले एक करोड ४० लाख रुपैयाँ लागत साझेदारी गर्नेछन् । दुई हजार ८५० मिटर अग्लो ठाउँमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ ।

सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ सुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । त्यो समयमा बालबालिका र बुढाबुढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ । 

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा सङ्कलनको सिजन एउटै पर्ने भएकाले बिस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले बताउनुभयो । पछिल्लो समयमा जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले बताउनुभयो ।

गाउँपालिकाले छुमचौरलाई पर्यटकीय गन्तव्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । यहाँको २०० रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ । मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने पालिका छनोट गरेको हो ।

पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्नसक्ने भन्दै छुमचौर जिउलाे संरक्षण र प्रवद्र्धनका लागि झण्डै आठ करोड रुपैयाँको डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) बनाइएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया