इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल ...
मंसिर १०, २०८१ सोमबार
मुगु - बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा-गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ ।
सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा नौ करोड ७० लाख रुपैयाँ विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।
बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा पाँच करोड रुपैयाँ छुट्याएको थियो । रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । 'लागत अनुमानअनुसार काम भएको छैन', सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले भन्नुभयो, 'बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।'
बजेट अभावले ठेकेदारलाई १२ करोड रुपैयाँ भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । यस सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि २० करोड रुपैयाँ आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
३४ किलोमिटरमा ग्राभेल
चालु आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताउनुभयो ।
मुगुको गमगढीबाट कालीकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हिरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शङ्कर निर्माण सेवाले लिएका छन् । चालु आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
१० ठाउँमा आरसीसी पुल
चालु आवमा सडकको १० ठाउँमा आरसीसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्लासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो ।
यसका लागि ८० करोड रुपैयाँ आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । याे सडक कालोपत्र गर्न सङ्घीय सरकारसँग तीन अर्ब रुपैयाँ बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न सुरु भएको नाग्मा–गमगढी सडक नौ वर्षपछि सरकारले स्तरोन्नतिको काम सुरु गरेको थियो ।
सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयवासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको स्थानीयवासी पदम महतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।