बाँचुञ्जेल राम्राे काम गर्ने हाे, मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार : प्रधानमन्त्री ओली

 फागुन १२, २०७७ बुधबार १९:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गर्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालजस्ता मान्छेहरूलाई सानो–सानो विषयले ठूलै असर गर्ने भएकाले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको भनी प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभएको छ । 

सर्वोच्चको फैसलापछि बुधवार दिउँसो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरूले लड्डु खुवाइ–खुवाइ गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौँ भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन्, अब हेर्नुछ ।’

प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरूले भोलि–पर्सिदेखि राजीनामा माग्नेसमेत बताउनुभयो । तर आफूलाई त्यतातर्फ कुनै चिन्ता नभएको ओलीकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मेरो विचारमा भोलि–पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ भनेर । यतापट्टि चिन्ता गर्नुपर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ, जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार हुन सक्छ ।’ 

प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दाबीसमेत गर्नुभयो ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया