मकवानपुरकाे तरकारी जाेनलाई सुपरजोनका लागि सिफारिस

 फागुन १४, २०७७ शुक्रबार १०:३८:३९ | रासस
unn.prixa.net

मकवानपुर - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीवार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न बैठकले सिफारिस गरेको जनाइएको छ । बैठकले विगत चार वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी क्षेत्रको कार्यक्षेत्रमा रहेको थाहा नगरपालिका–१ देखि १२ सम्म ६०० हेक्टर तथा इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा रहेका ४५० हेक्टर गरी कुल एक हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनका रूपमा सिफारिस गरेको हो ।

सुपरजोनका लागि जिल्ला समन्वय समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने बताइएको छ । साथै बैठकले जिल्लामा उत्पादित बालीहरुको प्राथमिकीकरणसमेत तोकेको छ ।

पालिका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लामा उत्पादन भइरहेका बाली तथा पशु व्यवसायको प्राथमिकीकरण गरिएको उहाँले बताउनुभयो । बैठकले जिल्लाको पालिकाबाट प्राप्त तथ्याङ्क र विवरणका आधारमा जिल्लामा एक नम्बरमा आलुखेतीलाई प्राथमिकीकरण गरेको छ । त्यस्तै दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथौमा धान र पाँचौँमा अदुवा र बेसारखेतीलाई प्राथमिकीकरण गरिएको छ । 

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपरजोन) का रूपमा वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेको छ । बैठकले त्यहीअनुसार सिफारिस गरेको हो ।

यस कार्यक्रममार्फत किसानलाई प्राविधिक, साना सिँचाइ उत्पादन सामग्री र बजार व्यवस्थापमा सहयोग गर्ने अध्यक्ष खुलालले बताउनुभयो । कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी देशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका लागि याे कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कार्यक्रम उत्तम रहेकाले यसलाई छिटो कार्यावन्यनमा ल्याउनुपर्ने बताउनुभयो । बैठकमा सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया