नाइजेरिया : विद्यालयमा बन्दुकधारीकाे आक्रमण, सयाैँ छात्राकाे अपहरण गरिएकाे आशङ्का

 फागुन १४, २०७७ शुक्रबार १७:५५:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नाइजेरियाको उत्तर–पश्चिमी जाम्फारा राज्यका सयौँ स्कुले छात्रा अपहरणमा परेकाे आशङ्का गरिएको छ । 

शुक्रवार बिहान बन्दुकधारीहरूले एक विद्यालयमा आक्रमण गरेपछि झण्डै तीन सय छात्राको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको एक शिक्षकले बताएको बीबीसीमा उल्लेख छ ।  

बन्दुकधारीले स्थानीय समयअनुसार शुक्रवार रातकाे एक बजेकाे समयमा आक्रमण गरेकाे बताइएकाे छ । जङ्गेबे क्षेत्रकाे एक विद्यालयमा माेटरसाइकल र गाडीमा आएका बन्दुकधारीकाे एक समूहले आक्रमण गरेकाे एक शिक्षकले पञ्च नाम गरेकाे एक समाचार वेबसाइटलाई जानकारी दिएका छन् ।

एक शिक्षकले बीबीसीसँग भने, ‘विद्यालयमा चार सय २१ विद्यार्थी छन्, तीमध्ये ५५ जना सुरक्षित छन् र तीन सय छात्राकाे अपहरण गरिएकाे आशङ्का छ ।’ 

नाइजेरिया सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन् तर यसबारेमा अन्य जानकारी दिएका छैनन् । गएका केही हप्तायता भएको अपहरणको घटनामा यसलाई सबैभन्दा ठूलो मानिएको छ । नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।  

नाइजेरियाको छिमेकी देश नाइजरमा गएको हप्ता २७ विद्यार्थीसहित कम्तीमा ४२ जनाको अपहरण गरिएको थियो । त्यो घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बीबीसीमा उल्लेख छ । 

गएको वर्षको डिसेम्बरमा नाइजेरियाकाे कत्सिना राज्यमा बन्दुकधारीले तीन सयभन्दा धेरै छात्रलाई अपहरण गरेका थिए, छलफलपछि उनीहरूलाई रिहा गरिएको थियो ।    

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया