नेकपाका नेताहरुको ध्यान सर्वोच्चले गर्न लागेको अर्को फैसलामा

 फागुन १५, २०७७ शनिबार ८:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ सत्ता समीकरण र पार्टीको आधिकारिताबारे बहस र छलफलमा व्यस्त नेकपाका नेताहरुको ध्यान सर्वोच्च अदालतले गर्न लागेको अर्को फैसलामा मोडिएको छ ।

सर्वोच्च अदालतले आउँदो बिहीवार नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्न लागेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउँदा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

निर्वाचन आयोगमा उजुरी गरे पनि आयोगले खारेज गरेपछि कट्टेलले २०७५ को मंसिर २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चमा विचाराधीन यो मुद्दाको फैसला आउँदो बिहीवार हुन लागेको हो । सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्यो भने नेकपाको ओली र प्रचण्ड-नेपाल समूहले नाम फेर्ने या अर्को दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेपछि राजनीतिक रुपमा विभाजन भएको नेकपाको दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिसके पनि निर्वाचन आयोगले नेकपाको विवाद टुङ्ग्याउन सकेको छैन ।

यस्तो अवस्थामा सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्यो भने दुई समूहमा बाँडिएको नेकपाको विवाद झन् जटिल हुने देखिन्छ । कट्टेलको विपक्षमा फैसला आयो भने चाहिँ नेकपाको विवाद अहिलेकै अवस्थामा रहन्छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया