दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकाेटा

 फागुन १५, २०७७ शनिबार १७:५२:३६ | रासस
unn.prixa.net

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संसद् नियमित चल्ने पनि बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।”

राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उहाँको भनाइ छ । राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।” संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया