ग्यास सिलिन्डर प्रयोगमा कसरी सावधानी अपनाउने ?
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुरातत्त्व विभागप्रति आक्रोशित हुनुभएको छ । आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको हो ।
कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्त्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताउनुभयो । अहिले पुरातत्त्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र नागरिकलाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पुरातत्त्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्त्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्त्व विभागलाई त्यस्तो किसिमले छाडा रूपमा छोड्न सकिन्न । नागरिक–नागरिकबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्त्व विभागलाई कानुनको दायराभित्र हामी ल्याउँछौँ ।’
मेयर शाक्यले पुरातत्त्व विभागले यहीअनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । महानगरभित्र रहेका कतिपय सम्पदाहरू पुरातत्त्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभयो । हनुमानढोकाभित्र रहेका सतलहरूमा पुरातत्त्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताउनुभयो । सबै पसल र होटल नहटाए स्थानीय र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रूपमा कायम गर्न चाहन्छौँ । हामीले पुरातत्त्व विभागलाई पत्र पनि लेखिसकेका छौँ । हनुमानढाेकाभित्र जुन–जुन सतलहरू थियो, ती सतलबाट पुरातत्त्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्राचार गरिसकेका छौँ । पुरातत्त्व विभागले व्यापार गरेर पैसा कमाउने होइन, सतल खुला नै हुनुपर्छ, बटुवामैत्री हुनुपर्छ भन्ने काठमाण्डाै महानगरपालिकाको धारणा हो । हामीले पत्राचार गरिसकेका छौँ, पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरू सबैलाई सिकाएर हिँड्ने पुरातत्त्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा कमाइराखेकाे छ । त्यसको अब हामी काठमाण्डाै महानगरवासी सहने छैनौँ, हटाउँछौँ । हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौँ । ’
मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दासमेत निर्माण कार्यमा ढिलाइ हुने गरेको बताउनुभयो । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु, आफूले गर्दा जे पनि ठिक अरूले गर्दा बेठिक भन्न पाइन्न । हाम्रो लागि बोल्ने को ? उहाँहरूले गर्दा सबै बोल्ने हामी, उहाँहरूलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न ।’
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सम्पदाहरूको पुनर्निर्माण गर्दा सरकारी निकायहरूबीच समन्वय हुनुपर्ने बताउनुभयो । प्राधिकरण जोडिएका सम्पदाहरूको समस्या समाधानका लागि प्राधिकरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारी निकायबीचको समन्वय हुने खालको कुरामा आफ्ना तरिकाले सोच्ने कुरामा कहिलेकाहीँ समस्या देखिन्छन् । त्यसलाई अरू कुनै पनि उपाय छैन, हामी एकसाथ बसेर छलफल गरेर निचोड के हो ? त्योअनुसार निकालेर काम गर्नुको हामीसँग विकल्प छैन ।’
भारत सरकारको आर्थिक सहयोगमा सेतो मच्छिन्द्रनाथको मन्दिर बनाउन लागिएको पनि ज्ञवालीले बताउनुभयो । भूकम्पबाट क्षति भएका सबै सम्पदालाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको पनि सीईओ ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।