फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम

 फागुन १६, २०७७ आइतबार २०:२७:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – कास्कीमा रहेकाे फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले तालको क्षेत्रफल ११ हजार दुई ५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

नयाँ सीमाङ्कनअनुसार फेवाताल सीमा रेखाको परिधि १८ किलोमिटर हुनेछ । फेवातालको चार किल्ला पूर्वमा ‘ड्याम साइड, पश्चिममा मोरे बगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ ।

विश्वका १३ औँ सुन्दर तालमा पर्ने फेवाताल प्राकृतिक तथा मानवीय कारणबाट बर्सेनि अतिक्रमित हुँदै गएकाले तालको संरक्षणका लागि सर्वोच्च अदालतले पटक–पटक सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो ।

यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोजकत्वमा गठित आयोगले विसं २०६९ मा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई फेवातालको क्षेत्रफल ६ दशमलव ५४ वर्ग किमी (१२ हजार आठ सय ७४ रोपनी) रहेको अध्ययन प्रतिवेदन बुझाएको थियो ।

चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलले समितिले कुनै एकमात्र आधारमा केन्द्रित रहेर फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन गर्न सम्भव नदेखिएकाले विभिन्न आधारलाई लिएर काम गरेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया