दोलखाको २३ वटै टावरबाट फोरजी सेवा

 फागुन २१, २०७७ शुक्रबार १३:३५:२९ | उषा तामाङ
unn.prixa.net

दोलखा - दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो । 

पछिल्लो एक हप्ताको अवधिमा मात्रै जिल्लाका ४ ठाउँमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, सिँगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको हो । अब जिल्लाको सदरमुकाम चरिकोटसहित विभिन्न ठाउँबाट फोरजी चलाउन सकिनेछ ।

खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा सुरु भएसंँगै गाउँपालिकाका चङ्खु, मार्बु, खारेलगायतका वडाहरुमा द्रुतगतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनुभयो ।

दोलखाको उत्तरी विकट क्षेत्र वेदिङ र वैत्यश्वर गाउँपालिका वडा नम्बर-५ मैनापोखरी क्षेत्रमा भने फोरजी सेवा सञ्चालनमा छैन । यी दुई ठाउँमध्ये मैनापोखरीमा फोरजी सेवा विस्तारका लागि प्रक्रिया सुरु भएको नेपाल टेलिकम दोलखाले जनाएको छ । 

नेपालमै पहिलोपटक २०७३ सालमा काठमाण्डौ र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमको फोरजी सेवा पुगेका ठाउँमा थ्रीजी चलाइरहेकाले फोरजी सेवा नि:शुल्क सुचारु गर्न सक्छन् । तर यसका लागि सिम चेक गर्नुपर्छ ।

सिमले फोरजी सपोर्ट गर्ने नगर्ने थाहा पाउनका लागि स्टार ४४४ ह्यास डायल गर्नुपर्छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया