आमा-बुवाले साथ छाेडेपछि अभिभावकविहीन पाँच बालबालिका

 चैत ११, २०७७ बुधबार १०:४:१ | रासस
unn.prixa.net

पर्वत – पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् ।

विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् । अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् ।

आशाजस्तै त्यही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् । जलजला–२ रातढुङ्गाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । विवशका बुवाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् ।

बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुवा सिकिस्त बिरामी छन् । बुवा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुवा बिरामी छन्, खाने, बस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर त्यही ठाउँको विद्यालयमा जाने गरेकी छन् ।

विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षेत्रीले अभिभावकविहीन पाँच बालबालिकाको अवस्था बिजोग रहेको बताउनुभयो । “उनीहरुलाई पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ”, प्रअ घर्तीले भन्नुभयो ।

उहाँका अनुसार सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको छ । यता वडाध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताउनुभयो । “सिङ्गो दलित बस्तीका बालबालिकामा धेरै अभाव छ, वडाबाट सक्ने सहयोग हुन्छ”, अध्यक्ष खत्रीले भन्नुभयो ।

अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छाडेर गएपछि शिक्षादीक्षामा ठूलो सङ्कट परेको छ । शैक्षिक साम्रगीदेखि ओढ्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान शुरु भएको स्थानीय युवाद्वय नवीन जिसी र रविन जिसीले बताउनुभयो ।

उनीहरुलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने स्थानीयवासीले बताएका छन् । लामो समयदेखि अभिभावकविहीन बने पनि कुनै निकायबाट सहयोग नपाएको बालबालिकाको गुनासो छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया