चार वर्ष बित्यो, पुल बनेन्

 भदौ ५, २०७५ मंगलबार ९:२९:४३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरेर ठेक्का सम्झौता भएको सेती नदीको पानकोटमा पर्ने पक्की पुल चार वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

सेती पारि रहेको जिल्लाको झण्डै आधा भू–भागलाई सडक सञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षाैअघि निर्माण सम्पन्न भएका सडकहरु पनि बेकामे भएका छन् ।

सेती नदी पारि रहेका ६ वटा स्थानिय तहलाई सडक सञ्जालसँग जोड्ने यो पुलको ठेक्का २०७२ साल वैशाखमा भएको थियो ।  तत्कालीन जिल्ला विकास समितिको ६ करोड ७८ लाखको लागतमा  ठेकेदार कम्पनी निलगिरि निमार्ण सेवा र जागृति निमार्ण सेवाले संयुक्त रुपमा पुल निमार्णको जिम्मेवारी पाएका थिए ।

कार्ययोजना अनुसार काम नभएकोले तोकिएको समयमा पुल निमार्ण नभएको भनेर ठेक्काको अवधि २०७४ साल असार मसान्तसम्म थप गरिएको थियो । पछि ठेकेदार कम्पनीले पुलको डिजाइन नै गलत भएको भन्दै पूर्ववत डिजाइनमा काम गर्न नसकिने बताएको थियो ।

पूर्ववत डिजाइन अनुसार नदीको दुवै किनारमा ब्लक बनाएर नदीको बीचमा १६ मिटर गहिरो प्वाल पारी पिलर गाड्नु पर्ने थियो । यद्यपी माटो परीक्षण गर्दा कमजोरी भएका कारण नदीको बीचमा कडा खालको चट्टान भेटिएकाले त्यति गहिरो प्वाल बनाउने प्रविधि नेपालमा उपलब्ध नभएको भन्दै डिजाइन नै परिर्वतन गर्नु पर्ने ठेकेदार कम्पनीले माग गरेको थियो ।

सुरुमा गरिएको कम्पोजिट (आधा स्टिल र आधा आरसीसी) मोडललाई परिर्वतन गरी स्टिल ट्रष्ट प्रविधिबाट पुलको नया“ डिजाइन तयार गरिएको थियो ।  पुलको नया“ डिजाइन तयार भैसकेपछि पनि पुरानै ठेक्का सम्झौताको म्याद २०७५ साल असार मसान्तसम्म थप गरी सहायक संचरना (पुलसम्म पुग्ने सडक र नदी वारपारका पिलर) हरु निर्माण गर्न लगाइएको जिल्ला प्रविधिक कार्यालयले बताएको छ । 

पुरानो ठेक्का सम्झौता अनुसारको रकमले नया“ डिजाइनमा काम नहुने भएपछि त्यो ठेक्का असार मसान्तमा भंग गरिएको र अहिले सुपर स्ट्रक्चर (पुलको मुख्य संरचना) निर्माणको लागि नया“ ठेक्काको प्रक्रिया सुरु भएको जिल्ला प्रविधिक कार्यालयका प्रमुख नृपराज जोशीले बताउनुभयो ।

सुरुवाती ठेक्का तत्कालीन जिल्ला विकास समितिले गरेको भए पनि नया“ ठेक्काको प्रक्रिया डोलिडारको केन्द्रीय कार्यालयले थालेको र केही दिनभित्र टेण्डर आब्हान गर्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।
लामो समयसम्म विभिन्न बहानामा पुल निर्माण कार्य रोकिएको प्रति यहा“काबासिन्दा भने आक्रोसित भएका छन् । समयमा पुल नबन्दा ग्रामिण सडकमा भएको लगानी पनि त्यसै खेर गैरहेको जयपृथ्वी नगरपालिकाका स्थानीय चन्द्रबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकले घर–घरबाट चन्दा उठाएर सडक बनाए । गाउँमा सडक छन् तर पुल नबन्दा गाडी चल्न सकेका छैनन ।’ पुल नबनेका कारण निमार्ण सम्पन्न भैसकेका सडकमा पनि गाडी चल्न नसक्दा स्थानीयहरुको गाडी चढ्ने आशा निरासामा परिणत भएको उहाँको भनाई छ । 

अधिकांश स्थानीयले ठेकेदारको लापरबाहीमा राजनीतिककर्मीहरुको संरक्षण हुने गरेका जिल्लाको विकास नै अवरुद्ध भएको टिप्पणी गर्न थालेका छन् । जिल्लाका धेरै जसो पुल, सरकारी भवन र सडकहरु ठेकदारको लापरबाहीका कारण ठेक्का भएको ८ वर्ष पुगिसक्दा पनि निर्माण हुन सकेका छैनन् । 

 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया