इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बिहीवार ललितपुरमा आयोजना गरिएको पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहलाई सम्बोधन गर्दै दिगो कृषि विकासका लागि अनुदानको सदुपयोग अनिवार्य सर्त रहेको उल्लेख गर्नुभयो ।
सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रिकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ ।
प्रधानमन्त्री ओलीले किसानको आम्दानीलाई बचतको स्तरमा पुर्याउन कृषि बीमा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने र बीमाको किस्ता रकम (प्रिमियम) घटाउनमा जोड दिनुभयो । संयुक्त राष्ट्र सङ्घअन्तर्गत विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार नेपाल केही पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै 'उल्फाको धन फूपुको सराद्ध' नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।
विश्व खाद्य सङ्गठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध, ४८ अण्डा र १४ किलो मासु आवश्यक पर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले बिहीवार नेपाल मासु र अण्डामा आत्मानिर्भर भएको घोषण गर्नुभयो । नेपालीका भान्सामा प्रतिव्यक्ति प्रतिवर्ष ५५ अण्डा र २२ किलो माछा/मासु खपत भएका कारण सरकारले बिहीवार मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषण गरेको हो ।
नेपालमा प्रतिवर्ष एक अर्ब ६० करोड अण्डा र दुई लाख ५५ हजार मेट्रिक टन माछा/मासु उत्पादन हुने गरेको भए पनि नेपाल दूधमा आत्मनिर्भर हुन अझै प्रतिव्यत्ति प्रतिवर्ष १२ लिटर दूधको उत्पादन बढाउनुपर्ने छ ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगेको भए पनि उत्पादन भने सन्तोषजनक रूपमा बढ्न नसकेकामा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै शिक्षा र सीप विकासमा युवा जनशक्तिलाई आकर्षक कार्यक्रम चलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले मकैको उत्पादन घटेकामा सम्बन्धित मन्त्रालयलाई मकैको समर्थन मूल्य तोक्न र उत्पादन बढाउन तथा वनलाई कृषि वन बनाउने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने पशु तथा पशुजन्य उत्पादनमा १४ प्रतिशत छ । झन्डै ६८ प्रतिशत नागरिक कृषि पेसामा संलग्न भए पनि कृषि क्षेत्रको परनिर्भरता घट्न नसकेपछि सरकार कृषिमा वैदेशिक लगानी भित्र्याउने तरखरमा रहेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनकिकीकरण परियोजनमार्फत लागू भएका पकेट क्षेत्र कार्यक्रम व्यक्तिका पकेट क्षेत्र नबनोस् भन्नेमा जोड दिनुभयो ।
उहाँले एकीकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताउनुभयो । पशुपक्षी सचिव डाक्टर पेम नारायण कँडेल र कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरणबाट मात्र दिगो कृषि विकास हासिल हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रमुख सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, किसान एवम् व्यवसायीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले कार्यक्रममा विभिन्नि सहकारी, कृषि फार्म तथा उत्पादक कम्पनीलाई सम्मान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।