डढेलोले वन सखाप : बस्ती पनि असुरक्षित

 चैत १४, २०७७ शनिबार ११:२९:१० | रासस
unn.prixa.net

महाेत्तरी - चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ ।

पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर-दक्षिण) का बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो ।

अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्ग्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको बर्दिवास-५ गणन्ताका सामाजिक कार्यकर्ता कहरमान स्याङ्वाले बताउनुभयो । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।

जिल्लाको सघन वन क्षेत्रमा चार ठाउँ वन सुरक्षा पोष्ट र बाँके मरहा साझेदारी वनको कार्यालय नै भए पनि डढेलो नियन्त्रणमा भने उदासिनता देखिएको सर्वसाधारणको गुनासो छ । फागुन मध्यदेखि नै वनमा डढेलो देखिन थाल्छ ।

घाँसे, दाउरे र गोठालाले डढेलो लगाउने गरेका वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका अहिले बर्दिवास-१ कै बासिन्दा चन्देश्वर यादव बताउनुहुन्छ । फागुन/चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको सहायक वन अधिकृतको सेवाबाट अवकाश लिनु भएका यादवको अनुभव छ ।

पूर्वपश्चिम राजमार्गको भव्सी नदीदेखि पश्चिममा बाँके नदीसम्मको १६ किलोमिटर दूरीको दुवैतिर सघन वन क्षेत्र छ । वनसँगै जोडिएका बर्दिवासका हाथिलेट फार्लाइन, लटियानी, भव्सी, माईस्थान, वरडाँडा, चेरु, गणन्ता, ढुङ्ग्रे, सोनापेटी, खयरमारासहित दर्जनभन्दा बढी बस्ती छन् । त्यसैगरी गौशाला नगरपालिकाका पनि ढल्केबर, बेलगाछी, भण्टाबारी, लक्ष्मीनियाँ, कालीपुरसहितका बस्ती पनि वनसँगै जोडिएका हुँदा डढेलोले गर्दा यी बस्ती आगलागीको उच्च जोखिममा रहेका गौशाला-१० बटौवाका २५ वर्षीय युवा विवेककुमार कुशवाहाको चिन्ता छ । 

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । वनक्षेत्रमा बढेको अनधिकृत अतिक्रमण र डढेलोले गर्दा अहिले मुस्किलले १६ हजार हेक्टरको सेरोफेरोमा मात्र वन बाँकी रहेको कार्यालयका अधिकृत नै बताउँछन् । 

पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रुखबिहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । वनका रुख मानव प्रयोगका भएका र यी बुढा भएर धोद्रिएपछि उपयोगविहीन हुने यादवको भनाइ छ । त्यसैले पाका रुख काट्ने र नयाँ रुख रोप्ने वैज्ञानिक प्रणाली नबसालेसम्म साँचो अर्थमा रुखको उपयोग र वन संरक्षण हुन नसक्ने यादवको ठहर छ । 

यसैबीच प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा तथा जिल्लाका अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली परिचालन गरिने जानकारी दिनुभयो । कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया