विभिन्न पाँच कार्यक्रम मार्फत १२ हजार युवालाई स्वरोजगार बनाइँदै

 चैत १४, २०७७ शनिबार १७:१३:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।

कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले दुई लाख रुपैयाँ सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।

कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाण्डाै उपत्यका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले जानकारी दिनुभयो ।

उहाँले अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा  व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३ दशमलव २ प्रतिशत ब्याजमा दुई लाख रुपैयाँ उपलब्ध गराउने छ ।

साझेदारी कार्यक्रम

कोषले स्थानीय तहसँग सहकार्य गरेर युवालाई स्वरोजगार बनाउने छ । स्थानीय तहबाट ३ दशमलव ५ प्रतिशत ब्याजमा ऋण लिए कोषले तिनै स्थानीय तहमा बेरोजगार युवालाई स्वरोजगार बनाउन दुई लाख रुपैयाँका दरले ३ दशमलव २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

“हामीले स्थानीय तहबाट जति ऋण लिन्छौँ, त्यति नै थप गरेर त्यहाँ रहेका युवालाई लगानी गर्दछौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा स्थानीय तहमा रहेका युवालाई त्यही नै रोजगारी सिर्जना गर्न सकिन्छ ।”

कोषले स्थानीय तहमा रहेका बैंक, वित्तीय संस्था र सहकारीमार्फत ती युवालाई रु दुई लाखका दरले ऋण उपलब्ध गराउने छ । अहिले कोषले सहकार्यका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान गरेको छ । साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक नरबहादुर साउँदले १२  स्थानीय तहले साझेदारी गर्नका लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहका पाँच हजार युवालाई स्वरोजगार बनाइने लक्ष्य दिइएको छ ।

कोशी इकोनोमिक करिडोर कार्यक्रम

यस्तै कोषले कोशी नदी र त्यस नदीका सहायक नदीसँग जोडिएका १७ जिल्लाका युवालाई लक्षित गरेर कोशी इकोनोमिक करिडोर कार्यक्रम पनि सञ्चालनका तयारीमा गरेको छ ।

सिन्धुपाञ्चोक, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र सुनसरी जिल्लाका करीब दुई हजार ५ सय युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा रोकाले जानकारी दिनुभयो ।

सप्तकोशाी नदी तथा उक्त नदीमा सहायक नदीका किनारको आसपासमा नदीले छोएका ती जिल्लाका युवालाई माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, र्‍याफटिङ व्यवसाय, आलुखेती, केराखेती, बगरखेती, गोलभेंडा, अदुवाखेती, काउली बन्दा, बेसार र पशुपालन व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराइने छ ।

अहिले युवालाई कर्जा उपलब्ध गराउनका लागि वित्तीय संस्थाको अनुगमन भइरहेको कोषका कार्यकारी निर्देशक नारायणदत्त देवकोटाले जानकारी दिनुभयो ।

भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम

कोषले भेरी र कर्णाली नदी किनारमा रहेका १७ जिल्लाका युवालाई पनि व्यावसायिक प्रयोजनका लागि कर्जा उपलब्ध गराउने भएको छ । हुम्ला, जुम्ला, मुगु, अछाम, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोटा, अछाम, डोटी, बझाङ, बाजुरा, सल्यान, रुकुम (पश्चिम र पूर्व दुवै), कैलाली र बर्दियाका दुई हजार युवालाई तरकारी खेती, पशुपालन, पन्क्षीपालन, फापर/काउनो खेती, माछापालन, राताचामल, फलफूलखेती, होमस्टे/होटल, र्‍याफटिङ र स्थानीय व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गरी स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ । 

काठमाण्डाै उपत्यका स्वरोजगार कार्यक्रम

कोषले काठमाण्डाै उपत्यकामा बेरोजगार युवालाई लक्षित गरी ठेलामा खानेकुरा बेच्नका लागि कर्जा उपलब्ध गराउने भएको छ । काठमाण्डाै, ललितपुर र भक्तपुरका बेरोजगार युवालाई चोक, पार्क, सपिङ मल अगाडि खानेकुरा, तरकारी, फलफूल र दुग्धजन्य खाद्यपदार्थ बेच्नका लागि दुई लाखका दरले कर्जा उपलब्ध गराउने तयारी गरेको छ ।

कोषका कार्यकारी निर्देशक देवकोटाले युवालाई कर्जा प्रवाह गर्नका लागि अनुगमनका कार्य भइरहेको र चाँडै नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

“आफ्नो सीप, क्षमता भए पनि केही युवाले थोरै रकममा पनि व्यवसाय सञ्चालन गर्न पाएका छैनन्”, उहाँले भन्नुभयो, “त्यही भएर दुई लाखले सञ्चालन हुने ठेलागाडामा राखेर खानेकुरा बेच्नसक्ने व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न सक्नेलाई कर्जा उपलब्ध गराउने छ ।”

तराई–मधेश स्वरोजगार कार्यक्रम

कोषले यस कार्यक्रम मार्फत तराईका २१ जिल्लाका युवालाई बायोफ्लक प्रविधिबाट भकारीमा प्रविधियुक्त माछा पालनमा लगानी गरी स्वरोजगार सिर्जन गर्नेछ । कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बाचरा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा र उदयपुरका युवालाई माछापालनसँगै अटोरिक्सा, ठेलागाडामा व्यवसाय, फलफूल, तरकारी, चट्पटे, फास्टफुड पसल, भैंसीपालन सञ्चालनका लागि कर्जा प्रवाह गर्नेछ । 

कोषले तयारी पारेको ढाँचाअनुसार ऋणका लागि प्रस्ताव पेश गर्नुपर्नेछ । सो प्रस्ताव कोषले स्वीकृत गरेपछि कोषसँग सहकार्य गरेका वित्तीय सङ्घसंस्था, सहकारीमार्फत आधारमा युवाले ऋण पाउने छन् । एक जनाले दुई लाखका दरमा वार्षिक ३ दशमलव २ प्रतिशत ब्याजमा ऋण पाउने छ । यसरी पाएको ऋणबाट उनीहरुले आफ्नो सीप, क्षमताअनुसार कुनै व्यवसाय सञ्चालन गर्ने छन् ।

देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न २०६५ सालमा कोषको स्थापना गरिएको हो । कोषले अहिलेसम्म ७८ हजार युवालाई स्वरोजगार बनाइसकेको छ ।

कोषले देशमा उपलब्ध जनशक्तिलाई आर्थिकरुपमा सक्षम बनाइ स्वरोजगार कार्यक्रममा उनीहरुको सहज, पहुँच र स्रोत परिचालन गर्नसक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराउन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: भदौ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • RAM KUMAR RAJBANSHI

    April 6, 2021, 11:08 a.m.

    very nice

  •  0 Reply
  • राम बहादुर थारु

    April 6, 2021, 8:08 a.m.

    बेरोजगार युवाहरुलाई सिपमूलक कार्यक्रम सञ्चालन गरि दिगो रुपमा सञ्चालन तथा व्यवसाय गर्नका लागि व्यवसाय तिर उन्मुख गराउनका लागि दैनिक ज्यालादारीमा भन्दा स्वयम उनीहरु सिपमूलक कार्यक्रम तर्फ उन्मुख गराउन सके राम्रो हुनेछ। देशमा कैयौ बेरोजगार युवाहरुलाई सिपमूलक कार्यक्रम तथा व्यवसाय सञ्चालनक लागि न्यून व्याजदरमा श्रण उपलब्ध गराइ सहयोग गर्न सके देश विकास तथा बेरोजगार युवाहरु स्वरोजगार हुनेछन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया