कम्पनी परिवर्तन गरेका नेपाली कामदार फेरि कोरिया आउन पाउने

 चैत १५, २०७७ आइतबार १०:६:४४ | रासस
unn.prixa.net

काठमाण्डाै - दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् ।

यस्तो व्यवस्थासहितको कानुन गएकाे वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गएकाे बुधवार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटीयू)का अध्यक्ष उदय राईले जानकारी दिनुभयो ।

यसअघिको कानुनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाउँथे ।

नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित सर्त पूरा गरी कोरिया फेरि आउन पाउने भएका हुन् । कोरिया पुनः प्रवेशका लागि उस्तै प्रकृति भएका अथवा एकै किसिमका काम भएको कम्पनी परिवर्तन गरेका विदेशी कामदार, भाषामा दक्ष र आफूले स्वदेश फर्किनुअघिको कम्पनीमा एक वर्ष निरन्तर काम गरेको हुनुपर्नेलगायतका सर्त राखिएका छन् ।

तर यो कानुन बुधवार संसद्बाट पारित भए पनि छ महिनापछि मात्र लागू हुने बताइएको छ । त्यस्तै सरुवा रोग फैलिएर वा प्राकृतिक प्रकोपका कारण कार्यावधि समाप्त भएर पनि स्वदेश फिर्ता जान नसक्ने र प्रवासी श्रमिक कोरिया प्रवेश गर्न नसकेको अवस्थामा कार्यकाल सकिएर पनि एक वर्षसम्म प्रवेशाज्ञा थप गर्न सकिने कानुन बनेको छ । प्रतिबद्ध कामदार स्वदेश फिर्ता भएपछि तीन महिनापछि मात्र आउन पाउने कानुन संशोधन भएर अब एक महिना पूरा गर्नासाथै आउने पाउनेछन् ।

यसैगरी पहिलोपटक प्रवासी श्रमिक राख्न अनुमति पाएका कम्पनी मालिकले पनि मजदुर कानुन र मानवअधिकारसम्बन्धी शिक्षा लिनुपर्ने कानुन बनाइएको छ । दक्षिण कोरियामा प्रवासी मजदुर युनियन (एमटीयू), अन्तर्राष्ट्रिय श्रमिक युनियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बद्ध सङ्घसंस्थालगायतले कम्पनी परिवर्तन गरेका सबै विदेशीलाई प्रतिबद्ध कामदारका रूपमा फेरि कोरिया आउन पाउनुपर्नेलगायत मजदुरका अधिकारका पक्षमा विभिन्न माग राख्दै आइरहेका थिए । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया