नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप

 चैत १६, २०७७ सोमबार ९:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुग्नु भएको छ ।

खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज हिजो चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।  

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्राेडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा आएको हो ।

यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताउनुभयो । यो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ ।

पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो  खोप, खोप नलगाएकाहरुलाई दिइने  छ ।

तर कहिले र कसरी, कुन समूहलाई खाेप दिने भन्ने निश्चित भएको छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया