काठमाण्डौमा वायु प्रदूषणको मात्रा खतरनाक अवस्थामा, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

 चैत २३, २०७७ सोमबार १४:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । 

वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे एन–९५ मास्क प्रयोग गर्नसमेत अनुरोध गर्नुभयो । 

उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गर्नुभयो । 

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ । 

वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर धिमालले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभइ सवारी साधन नचलाउन र सवारी साधन वा पेसा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो । 

यस्ताे समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो । 

गर्मी बढेसँगै डढेलोका कारण साेमवार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।  

अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषणको मात्रा खतरनाक अवस्थामा रहेको देखाइरहेका छन् । अहिले काठमाण्डाैकाे एक्यूआई दुई सय ५० मापन भएकाे छ । 

सामान्यतया एक्यूआई ५० सम्म हुनु राम्रो हो । ५० देखि एक सय सम्मलाई सामान्य मानिन्छ । एक्यूआई एक सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । दुई सयसम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ ।

एक्यूआई तीन सय पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि  जानु चाहिँ घातक मानिन्छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manta

    April 5, 2021, 3:03 p.m.

    सरकारले डढेलो लगाउनेलाई हदैसम्मको कारवाही गर्नु उचित होला / कुनै न कुनै मानिस कै गल्तीले डढेलो हुने भएकोले सरकारले सर्वप्रथम फिल्डमा सेना खटाएर दोषीलाई कारवाही गरि सभ्य नागरिक बनाउनु अत्यन्त आवश्यक छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया