साइकल चढेर स्कुल जाने नाजनीन

 चैत २४, २०७७ मंगलबार १२:६:३६ | इन्द्रसरा खड्का
unn.prixa.net

रौतहटकी १४ वर्षीया नाजनीन खातुनले गएको वर्ष पहिलोपटक साइकल चढ्न पाइन् ।

साइकलमा सरर कुद्न थालेपछि नाजनीनलाई खुल्ला आकाशमा उडे जस्तो लाग्यो ।  साइकल चढ्नु मात्र हैन, घरभन्दा टाढा  विद्यालय जान पाउनु पनि उनका लागि नौलो थियो । नाजनीन साइकल चढ्न थालेपछि गाउँका अरु मान्छे अचम्म परे । उनीजस्तै छिमेका अरु किशोरीहरु उनले साइकल चलाएको हेर्न आउन थाले ।

केटीले साइकल चलाउनु नौलो र अचम्मको कुरो थियो, किनकी मुस्लिम समुदायका धेरैले छोरीलाई साइकल चलाउन दिँदैनन् ।  अझै मदरसा भन्दा बाहिर विद्यालय गएर पढ्न पनि उनीहरुले पाउँदैनन्। 

रौतहटको गौरबाट दक्षिणतर्फ पर्छ ईशनाथ नगरपालिका । गौरबाट टिकुलिया, औरैया, पिपरा डमरीया हुँदै करिब ४५ मिनेटको गाडी यात्रा पछि ईशनाथ नगरपालिकाको मन्सरी पुगिन्छ । जहाँ नाजनीन खातुनको घर छ । गहुँगोरो वर्ण, खरानी रंगको कुर्ता सलवारमाथि रातो सलले टाउको छोपेको । मिजासिलो स्वाभावकी नाजनीन अहिले कक्षा ७ मा पढ्छिन् । ५ कक्षासम्म गाउँमै रहेको मदरसामा पढेकी नाजनीन कक्षा ६ मा पढ्न अर्को विद्यालय जानुपर्ने भयो ।

विद्यालय टाढा भएपछि उनलाई हिँडेर जान गाह्रो भयो । हिँडेर स्कुल जान समस्या भएपछि नाजनीनका ठूलोबुबाले साइकल किनेर ल्याइदिनु भयो । समाजको मान्यतालाई तोड्दै ठूलोबुबाले नै साइकल किनेर ल्याइदिएपछि नाजनीन खुसी छिन् । 

‘सुरुमा मलाई साइकल चलाएको देख्दा गाउँमा कसैले राम्रो मान्दैन थिए । सबैले अचम्म मान्थे । अहिले मसँग विद्यालय जाने सबै साथीहरु साइकल चढ्छन्’ नाजनीनले भनिन् । 

साइकल चढ्न दिने ठूलोबुबा

नाजनीनलाई साइकल किनेर चढ्न ठूलोबुबा शेख चाँद अलीले अनुमति दिनुभएको हो । चाँद अली ईशनाथ नगरपालिका-८ का वडा अध्यक्ष हुनुहुन्छ ।

पहिले गाउँको मुखियाको रुपमा काम गर्नुभएका अली २०७४ सालमा भएको पालिकाको चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभयो । वडाध्यक्षमा निर्वाचित भइसकेपछि महिला हिंसा, बालविवाह लगायत समाजमा रहेको विकृति विसङ्गतिबारे धेरै कुरा थाहा भयो ।

‘छोरीलाई पढ्न नदिनु, साइकल चढ्न नदिनु पनि विभेद हो भन्ने थाहा पाएपछि मैले भतिजीका लागि साइकल किनिदिएको हुँ’ अलीले गर्वका साथ भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो रीतिअनुसार पहिले छोरीलाई साइकल चलाएर गाउँमा हिँड्न दिइँदैन थियो । यसरी हिँडेमा समाजले गलत मान्थ्यो । अहिले मान्छे शिक्षित भए । छोराछोरी पनि पढाउनुपर्छ भन्ने थाहा भयो । तब छोरीलाई पनि साइकल चलाउन दिन थालेका छन् । अहिले छोरीहरू पनि साइकल चलाएर विद्यालय जान्छन् ।’

हिजोआज मुस्लिम किशोरीहरु मदरसा मात्र नभएर विद्यालय जाने क्रम बढ्दो छ । विद्यालय गाउँभन्दा टाढा हुने भएकाले हिँड्दै जान समस्या हुने भएपछि छोरीहरुले पनि साइकल चढ्न थालेको वडाध्यक्ष अली बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ‘अहिले त साइकल मात्र हैन । छोरीहरुले स्कुटर पनि चलाउन थालेका छन् । पहिले हामीलाई पनि थाहा थिएन । अब हामीले पनि बुझ्यौँ ।’

छोरी साइकलमा चढ्दा आमा दङ्ग 

अहिले नाजनीन जस्तै गाउँका अरु किशोरीहरुले पनि साइकल चढ्न थालेका छन् । छोरी साइकलमा सररर हिँडेको देख्दा नाजनीनकी आमा, काकीहरु पनि खुसी हुनुहुन्छ ।  नाजनीनकी ठूलीआमा रुसेन खातुन भन्नुहुन्छ, ‘हाम्रो जीवन बुर्काभित्र गयो । अब छोरीको जीवन यस्तो नहोस् । पढोस्, लेखोस् आफ्नो खुट्टामा उभियोस्।'

'सुरुमा त छोरीलाई यसरी बाहिर जान दिएको गाउँमा कसैले मन पराएनन् । तर, अहिले अरुले पनि सिको गर्दैछन् । अब पहिलेको जस्तो छैन । हामी छोरीलाई पढ्न पठाउँछौँ । नराम्रो काम पो कसैले गर्नुभएन । राम्रो काम त जसले गर्दा पनि हुन्छ नि’ रुसेनले भन्नुभयो ।

मुस्लिम समुदायमा छोरीलाई गाउँ बाहिर एक्लै गएको राम्रो मानिँदैन । विद्यालय पठाउन कतिपय परिवार सहमत हुँदैनन् । तर अहिले यसमा परिवर्तन हुन थालेको छ । छोरीहरु साइकल चढेर विद्यालयमा पढ्न जान्छन् ।

छलफल केन्द्रको प्रभाव

अक्सफाम नेपालको सहयोगमा ग्रामीण विकास केन्द्र (आरडीसी)ले रौतहटको ईशनाथ र परोहा नगरपालिकामा ‘महिला र बालिकामाथि हुने हिंसा अन्त्य गर्ने अभियान’ चलाएको छ । अभियान अन्तर्गत मन्सरीमा सामुदायिक छलफल कक्षा सञ्चालनमा छन् ।

छलफल केन्द्रमा महिला हिंसा र बालविवाहबारे कुराकानी हुन्छ । गाउँमा हुने हिंसाबारे सरकोवारवालाहरुसँग समन्वय गरेर काम गर्न थालेपछि चाँद अलीलाई महिला हिंसा र बाल विवाहका विषयमा थाहा भयो । त्यसपछि अलीले गाउँमा रहेका महिला र किशोरीका बारेमा आवाज उठाउन थाल्नु भयो । 

‘हाम्रो समाजमा अहिले पनि छोरीलाई सानै उमेरमा विवाह गराइदिने, विद्यालय पढ्न नदिने लगायतका विभेद कायमै छन् । अहिले मैले यसैको विरुद्धमा आवाज उठाइरहेको छु’ वडा अध्यक्ष अलीले भन्नुभयो । महिला आर्थिक रुपमा सक्षम नभएकाले नै महिलाले हिंसा सहनु परेको भन्दै वडाध्यक्ष अलीले महिलालाई आत्मनिर्भर बनाउन आयआर्जनका कार्यक्रम र सीपमूलक तालिम दिइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३१, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया