‘एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने तपाईँहरू नआत्तिनुहाेस्’

 चैत २४, २०७७ मंगलबार १६:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रूपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मङ्गलवार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिइ अध्यक्ष मानेमा नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो । 

उहाँले समस्या आएमा समाधान पनि निकाल्ने बताउनुभयो । आफ्नो पक्षमा लागेका कुनै पनि नेता तथा कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताउनुभयो । एउटै डुङ्गामा यात्रा गर्नेहरूलाई आफूले सफलताका साथ वारिबाट पारि पुर्‍याइ छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भोलि वैधानिक रूपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईँहरूलाई परेको होला, नआतिनुहोस्, जहाँ समस्या छ, त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौँ । त्यसो हुनाले बीचमा तपाईँहरूलाई छाड्ने छैनौँ । तपाईँहरू र हामी एउटै डुङ्गामा सवार भएका छौँ, त्यो डुङ्गालाई सफलताका साथ वारिबाट पारि पुर्‍याइ छाड्ने छौँ । लक्ष्यसम्म पुगी छाड्ने छौँ । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’ 

नेता नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिस्ट शक्तिहरूसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पार्नुभएको छ । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उहाँकाे भनाइ छ ।

नेता नेपालले भन्नुभयो, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍याैँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीको समूहसँग कुरा गर्‍याैँ, उहाँहर" पनि सकारात्मक हुनुहुन्छ, अरू लोकतान्त्रिक पार्टीले पनि हाम्रो कुरालाई सकारात्मक रूपमा लिइरहनुभएको छ । हामी सबै सकारात्मक शक्तिहरूसँग एकताबद्ध भएर जान चाहन्छौँ । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले वाधा खडा गर्‍याे भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ । यही सङ्कल्पका साथ हामी यहाँ भेला भएका छौँ ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि नेता नेपालकाे दाबी छ । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको उहाँले बताउनुभयो । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको पनि नेता नेपालले बताउनुभयो । अहिले प्रचण्ड र अन्य दलसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालकाे आराेप छ ।

उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दाखेरि माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने भन्ने । हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो कि थिएन ? मै हुँ त्यो आवाज उठाउने । दुई वटाको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरू पार्टीसँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नुपर्दैन । देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो कि, संविधान नै समाप्त पारिदिने हो कि, सङ्घीयता नै निलिदिने हो कि समावेशीता नै समाप्त पार्ने हो कि, गणतन्त्र नै खाइदिने हो कि, ४७ सालको संविधान बिउँताउने हो कि, देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो कि अनि धार्मिक हिसाबले पूरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरू धर्मका मान्छेहरूलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्‍याइदिने हो कि, यावत् कुरामा मान्छेले गहिरो गरी वाच गरिरहेका छन् ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया