नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

 चैत २५, २०७७ बुधबार १०:३४:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोभिड–१९ महामारीका कारण शिथिल बनेको देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताउनुभयो । “ यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिनुपर्छ”, राजदूतले भन्नुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको उल्लेख गर्दै  नेपालको पर्यटन प्रवद्र्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन प्रवद्र्धनका नयाँ योजना अगाडि सारेको बताउनुभयो । उहाँले कतारबाट  नेपाल आउन चाहने पर्यटकको आवश्यकताअनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताउनुभयो ।

“नेपाल आउन चाहने पर्यटकको  स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।” उहाँले नेपाल र कतारबीच सिधा हवाई सम्पर्कसमेत रहेकाले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसको लागि बोर्डले थप पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया