सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

 बैशाख १, २०७८ बुधबार १२:४:६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ु पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । 

बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन् । पछिल्ला हप्तामा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दा भने स्वदेश फर्किनेहरुको यात्रा त्यति सहज हुन सकिरहेको छैन ।

धनगढीको ट्रफिक चोकमा भेटिनु भएका डोटीका डिल्लीराज जोशीले वर्षमा एक पटक आउने बिसु पर्व मनाउन केही दिनको विदा मागेर घर फर्किएको बताउनुभयो । “कोरोना भाइरस सङ्क्रमणको समस्याले यात्रा केही असहज भयो, सङ्क्रमणको अवस्था कस्तो हुन्छ, फर्किन सकिने अवस्था भए केही दिनको बसाइपछि पुनः भारत फर्किने सोचमा छु”, उहाँले भन्नुभयो ।

कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन् ।

यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ । “यो पर्वमा आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन हो”, स्थानीयवासी भोजराज बडूले भन्नुभयो, “तराईमा सिस्नु नपाउँदा भने सिस्नुपानी छ्यापेर रमाइलो गर्न पाउने अवस्था भने छैन ।”

तराईका जिल्लाभन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलनसमेत छ ।

यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् । घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् । 

यो पर्व किन मनाइन्छ भन्नेमा विभिन्न भनाइ छन् । स्थानीय शिक्षक लेखराज ओझा विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ‘बिसु’ पर्व मनाउने चलन शुरु भएको बताउनुहुन्छ । “गहुँ र दलहन जस्ता हिँउदे बाली भित्र्याएपछि पहिलो पटक घरमा नयाँ अन्नको ‘नौकोलो’ अर्थात् न्वागी पकाएर खाने चलन पनि रहेको छ”, ओझाले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया