सूइज नहरमा अड्किएको पानीजहाज इजिप्टले नियन्त्रणमा लियो, ९०० मिलियन डलर क्षतिपूर्ति माग्यो

 बैशाख १, २०७८ बुधबार १९:४३:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गमा पर्ने सूइज नहरमा अड्किएको एउटा विशाल पानीजहाजलाई इजिप्टले नियन्त्रणमा लिइएको छ । पानीजहाजलाई अदालतको आदेशमा नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सूइज नहरका अधिकारीहरुले त्यस पानीजहाजका मालिकको तर्फबाट नौ सय मिलियन अमेरिकी डलर दिइएपछि मात्र पानीजहाज छोडिने जनाएका छन् । दुई लाख टनको इभर गिभन पानीजहाज गएको महिना सूइज नहरमा अड्किएको थियो ।

यो जहाज नहरमा अड्किएका कारण अरु मालवाहक जहाज अर्कै रुट भएर जानुपरेको थियो । यस नहर भएर दिनहुँ अरबौँ डलरको कारोबार हुन्छ । यस्तोमा जहाज फस्दा विश्वको यातायात तथा व्यापारमा निकै असर परेको थियो ।

सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेको तथ्याङ्कले देखाउँछ । ​सूइज नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ ।​  

झण्डै दिनको मेहनतपछि इजिप्टका अधिकारी र अन्तर्राष्ट्रिय विशेषज्ञको टोली यो जहाज निकाल्न सफल भएका थिए ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया