सर्वदलीय बैठक सुरु : देउवा उपस्थित, प्रचण्ड अनुपस्थित

 बैशाख ४, २०७८ शनिबार १२:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहल, हिउँदे अधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित ४ जना सहभागी हुनुहुन्छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा सहभागी हुनुभएको छैन । आफूहरुलाई सर्वदलीय बैठक भनेर नबोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठकबारे पार्टीमा कुनै जानकारी नै नभएकाले यसबारे छलफल नै नभएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । यस्तै आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का नेताहरु सहभागी छन् । आफूहरु अहिले बैठकमा रहेको र छलफल चलिरहेको नेता लक्ष्मणलाल कर्णले उज्यालोलाई जानकारी दिनुभयो ।

दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । केन्द्रमा नयाँ सत्ता समीकरणको बहस चल्दै गर्दा प्रदेशमा पनि केन्द्रको प्रभाव सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

यसबारे पनि सर्वदलीय बैठकमा कुरा उठ्ने नेताहरुले बताएका छन् । आफ्नै पार्टी नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरुले फ्लोर क्रश गरेर कर्णालीका मुख्यमन्त्री शाहीलाई सहयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली थप सशङ्कित र समस्यामा पर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया