घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी

 बैशाख ४, २०७८ शनिबार १७:२१:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगमलाई चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ ।

पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करीब चार सय १८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । आईओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । 

पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा ६० करोड रुपैयाँ घाटा पुग्ने अनुमान गरिएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा घाटा रहे पनि मट्टितेल र हवाई इन्धनमा भने केही नाफा रहेको छ । मट्टितेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमको घाटा पूर्तिमा त्यसले उल्लेख्य हिस्सा ओगट्न सकेको छैन । गएकाे मार्च महिनामा ६० हजार किलोलिटर पेट्रोल, दुई लाख तीन हजार लिटर डिजेल र ४७ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो । 

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ । सोहीअनुसार निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने थियो । तर निगमले मूल्य समायोजनको निर्णय गरिसकेको छैन । 

निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो । त्यतिबेला निगमले पेट्रोल, डिजेल÷मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको थियो । अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय तीन रुपैयाँ रहेको छ । 

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य अझ बढी रहेको छ । भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३० दशमलव ४७ रुपैयाँ र डिजल प्रतिलिटर ३६ दशमलव ६३ रुपैयाँले नेपालतर्फ सस्तो रहेको छ । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा चोरीतस्करी गरी इन्धन भारततर्फ लैजाने गरेको पाइएको छ । इन्धन चोरी तस्करी रोक्न निगमले कडाइ गरेको छ । 

रुपान्तरणकारी योजना ईआरपी लागू

निगमले रुपान्तणकारी योजनाका रुपमा लिइएको इन्टरप्राइज रिसोर्स प्लान (ईआरपी) शुक्रबारदेखि लागू गरेको छ । यसबाट निगमका गतिविधिलाई पूर्ण स्वचालित प्रणालीमा जाने, आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गर्न सकिने छ ।

आफ्ना निकायलाई ‘पेपरलेस’ अवधारणामा अगाडि बढाउने तथा ‘डिजिटल नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गर्न निगमले उक्त प्रणाली लागू गरेको प्रवक्ता विनितमणि उपाध्याय बताउनहुन्छ ।

“निगमका सातै प्रदेशमा रहेको प्रादेशिक कार्यालयमा ईआरपी प्रणाली लागू गरिने छ”, उहाँले भन्नुभयो, “हामीले शुक्रबारदेखि नै यसको शुभारम्भ गरिसक्यौँ, आगामी साउन १ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा लैजान्छौँ ।”

तेल र ग्यासको कारोबार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोगमा ल्याइरहेको उहाँको भनाइ छ । निगमले हाल विभिन्न कार्यका लागि भिन्नभिन्न सफ्टवेयर प्रयोग गरिरहेको छ । यसका लागि कर्मचारी प्रशासन, लेखा, बिलिङ जस्ता सफ्टवेयर प्रयोगमा रहेका छन् । अब यो नयाँ प्रणाली शुरु भएपछि त्यस्तो हुने छैन । यी सबै इकाइलाई एकै सफ्टवेयरभित्र एकीकृत गरिने छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया