कम्युनिस्टले धर्म मान्दैनन् भन्छन्, याे झुटाे प्रचार हाे : प्रचण्ड

 वैशाख ५, २०७८ आइतबार १४:५:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टले नागरिककाे धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताउनुभएकाे छ । माडीकाे अयाेध्यापुरीमा मन्दिरलगायत संरचना बन्दै गरेकाे ठाउँकाे आइतवार निरीक्षणपछि उहाँले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट धर्म–संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ नागरिकको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धनमार्फत नागरिकको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उहाँले जिकिर गर्नुभयो ।

यस्ता विषय निकै संवेदनशील हुने भएकाले नागरिकको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उहाँको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढङ्गले लिनुपर्ने दाहालले बताउनुभयो ।  

आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै प्रचण्डले भन्नुभयो, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’ यसले धार्मिक प्रवर्द्धन मात्रै नभइ धार्मिक पर्यटन प्रवर्द्धन गर्नाका साथै नागरिकको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रामाणिकता दिन पुरातत्त्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’ यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो देशका लागि गौरवको विषय हुने उहाँको भनाइ थियो ।

माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने प्रचण्डले बताउनुभएको छ ।

माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्दछ । त्यही क्षेत्रबाट दाहाल निर्वाचित हुनुभएको हो । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राखिने भएको छ । मूर्ति राख्नका लागि निर्माण कार्य धमाधम भइरहेको छ । माडीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दाहालले यस क्षेत्रको निरीक्षण गर्नुभएको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया