माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालियो

 बैशाख १६, २०७८ बिहिबार १७:३७:२ | उषा तामाङ
unn.prixa.net

काठमाण्डाै – स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालिएको छ । चार सय ५६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिचेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङले सुरुङमा पानी खसाल्ने कामको सुरुवात गर्नुभएकाे हाे । 

कार्यक्रममा सञ्चार मन्त्री पार्वत गुरुङले नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको तामाकोशी आयोजनाले वैशाख मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यद्यपि आयोजनाले विद्युत् उत्पादनको मिति भने अहिलेसम्म तय गरेको छैन । सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टकको परीक्षण हुने आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक नौ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।

अहिलेसम्म आयोजनाको सुरुङ, प्रसारण लाइन, बाँध, सबस्टेशन जस्ता संरचनाका सिभिल र मेकानिकलतर्फका काम गर्न बाँकी रहेका छिटफुट काम भइरहेको आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया