सरकारी खाद्य कम्पनीका पसल बिहानदेखि राति ७ बजेसम्म खुलै, अनलाइनबाट घरघरै सेवा

 बैशाख १७, २०७८ शुक्रबार १४:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञालाई मध्यनजर गरेर दैनिक १२ घण्टा पसल खुलै रहेको जनाएको छ । निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

सरकारी कम्पनीको सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा सिंहदरबारको पश्चिमी गेट नजिकै, थापाथली, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकका बिक्री केन्द्र १२ घण्टा खुल्ने कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभर ४५ वटा बिक्री केन्द्र रहेका छन् । 

कम्पनीले जुम्ली मार्सीसहित विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु लगायतका खाद्य सामग्री बिक्री गर्दै आएको छ । बजारमा पाइने खाद्यान्न भन्दा कैयौँ गुणा सस्तोमा सामग्री पाइने पनि कम्पनीको दाबी छ । 

यसैबीच कम्पनीले गएकाे वर्षको लकडाउनको समयमा सुरु गरेको अनलाइन डेलिभरी सेवा यो पटक पनि प्रभावकारी रूपमा चलिरहेकाे जनाएको छ । उपभोक्ताले www.napalfood.gov.np बाट चक्रपथभित्र र www.sastodeal.com मार्फत काठमाण्डौ उपत्यकाभरि नै खाद्य सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया