सार्कका अर्थ मन्त्रीहरूको अनौपचारिक बैठक, छिटै अर्थतन्त्रको पुनरुत्थान हुन्छ : मन्त्री पाैडेल

 वैशाख २२, २०७८ बुधबार २०:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमा – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताउनुभएको छ । दक्षिण एसियाली एसियाली सहयोग सङ्गठन (सार्क) अर्थ मन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थ मन्त्री पौडेलले छिटै अर्थतन्त्रको पुनरुत्थान हुने आशा व्यक्त गर्नुभयो । 

‘कोभिड–१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ’ , उहाँले भन्नुभयो, ‘यसैगरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरूमा चुनौती थपिदिएको छ । गरिब एवम् जोखिम समूह बढी प्रभावित भएको देखिँदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ’, पौडेलले भन्नुभयो ।  

अन्तर–सम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थ मन्त्री पौडेलले जनस्वास्थ्यमा आएको यस्तो सङ्कटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रूपमा लिइने विश्वास व्यक्त गर्नुभयो । उहाँले खोपको आपूर्तिमा सबै देशले सहजरूपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताउनुभयो । 

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तर–आबद्धताको माध्यमबाट क्षेत्रीय समृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थ मन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गर्नुभयो । 

अर्थ मन्त्री पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रवर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा एसियाली विकास बैंकलाई धन्यवाद दिनुभयो । 

बैठकलाई अफगानिस्तानका अर्थ मन्त्री मोहम्मद खालिद पाइन्दा, बङ्गलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्मद खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थ मन्त्री इब्राहिम अमिरले सम्बोधन गर्नुभएको थियो । यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलङ्कका मुद्रा तथा पुँजी बजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया