सुनको काराेबार काठमाण्डौ उपत्यकामा ठप्प, बाहिरी जिल्लामा फाट्टफुट्ट

 बैशाख २३, २०७८ बिहिबार १३:२८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बिस्तारै जुरमुराउँदै गरेको सुनको कारोबार फेरि थला परेको छ । २०७२ सालको भूकम्पपछि पनि सुनको कारोबार प्रायः ठप्पजस्तै भएको थियो । भूकम्पपछि सहरी क्षेत्रमा सुनको कारोबार फाट्टफुट्ट भए पनि अन्य क्षेत्रमा हुन सकेको थिएन । 

तर भूकम्प गएको तीन वर्षपछि अर्थात् २०७५ सालदेखि सुनको कारोबार बिस्तारै पुरानै लयमा फर्किन थालेको थियो । माग बढ्न थालेसँगै कारोबार पनि बढ्न थाल्यो । विस्थापित भएका सुन व्यवसायीहरू फेरि व्यवसायमा फर्किन थालेका थिए । तर २०७६ सालको अन्त्यतिर आउँदा सुनको कारोबार फेरि थला पर्‍याे ।  

कोरोना भाइरसकाे सङ्क्रमणका कारण विश्वका धेरै देशमा जस्तै नेपालमा पनि लकडाउन भयो । यसले सुनको कारोबार शून्यजस्तै बनायो । विश्वको अर्थतन्त्र कोभिडका कारण प्रभावित बन्यो । लगानीकर्ताले अन्य क्षेत्रमा लगानी सुरक्षित नदेखेपछि सुनमा लगानी गर्न थाले । यसले सुनको भाउ ह्वात्तै बढायो । 

यसको असर नेपालमा पनि पर्‍याे । २०७७ सालको साउन महिनामा सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुग्यो । कोभिड–१९ को जोखिमसँगै भाउ बढेकाले सुन किन्ने भन्दा पनि भएका पुराना गहनालाई बेचेर आएको पैसामा थपथाप पारेर नयाँ गहना बनाउने क्रम बढ्यो । 

बिस्तारै कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि सुनको कारोबारले केही गति लिन थालेको थियो । तर कोरोनाको दोस्रो लहरले कारोबार फेरि ठप्प भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । 

उहाँका अनुसार अहिले सुनको कारोबार काठमाण्डौ उपत्यकामा ठप्प छ । काठमाण्डौबाहेकका बाहिरी जिल्लामा भने फाट्टफुट्ट सुनको कारोबार भएको पाइएको छ, त्यो पनि विवाहको लगनका कारण । बाहिरी जिल्लामा फाट्टफुट्ट कारोबार भइरहेकाले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार अहिले दिनहुँ सुनको नयाँ मूल्य भने तोकिने गरिएको छ । 

व्यवसायीका अनुसार सामान्य अवस्थामा वैशाख महिनामा सुनको माग दैनिक ६० किलो भन्दा माथि पुग्ने गरेको थियो । तर अहिले कारोबार ठप्प छ । 

माग र कारोबार नहुँदा पनि किन बढ्दै छ कारोबार ?

सामान्यतया कुनै वस्तुको माग नहुँदा त्यसको भाउ घट्छ । तर नेपालमा अहिले सुनको माग र कारोबार नभए पनि भाउ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारको असरका कारण नेपाली बजारमा माग र कारोबार नभए पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउनुहन्छ । 

विश्वमा सङ्कटका बेला अन्य क्षेत्रमा लगानी सुरक्षित नहुने भएकाले लगानीकर्ताले सुनमा लगानी गर्दछन्, अहिलेसम्मको अभ्यासले यही देखाएको छ । अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले सुन किनेर थुपार्दा त्यहाँ माग बढ्ने र यही कारण भाउ बढ्ने गरेको शाक्यले बताउनुभयो । 

शाक्यले भन्नुभयो, ‘जब लगानीकर्ता के गर्ने र कसो गर्ने भन्ने मनस्थितिमा पुग्छन् तब उनीहरूले सुनमा लगानी गर्दछन् । जब–जब पश्चिमा देशका अर्थतन्त्रमा समस्या हुन्छ तब लगानीकर्ताको रोजाइमा सुन पर्दछ । त्यसैले सुनमा लगानी थुप्रँदा यसको भाउ बढ्ने गर्छ ।’

अब भाउ बढ्ला कि घट्ला ?

कोभिड–१९ को सङ्कट चुलिँदै गएकाले सुनको भाउ अब के होला भन्ने जवाफ कसैसँग पनि छैन । बढिरहेको सुनको भाउ कहाँ पुगेर स्थिर हुन्छ वा घट्न थाल्छ भन्ने अझै प्रस्ट छैन । त्यसका लागि विश्व अर्थतन्त्रको तस्बिर पहिले प्रस्ट हुनुपर्ने शाक्य बताउनुहुन्छ । 

२०७६ सालको चैत ११ गते नेपालमा लकडाउन भएपछि सुनको कारोबार ठप्प भएको थियो । तर त्यतिबेला पनि अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएसँगै नेपालमा पनि भाउ बढेको थियो । २०७७ सालको साउन महिनामा आइपुग्दा सुनको भाउ बढेर एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । 

तर बिस्तारै कोरोनाको सङ्क्रमण कम हुँदै गएसँगै विवाह, व्रतबन्ध जस्ता गतिविधि पनि सुरु हुन थाले । यसले सुनको कारोबार पनि बढाउन थालेको थियो । 

लगानीकर्ताले अन्य क्षेत्रमा लगानी थालेका थिए । यसले गर्दा सुनको भाउ पनि सस्तिन थालेको थियो । यसबीचमा सुनको भाउ घटेर ८५ हजार ६ सय रुपैयाँसम्म झरेको थियो । तर फेरि कोरोनाको दोस्रो लहर फैलिएसँगै सुनको माग र कारोबार दुवै रोकिएको छ । 

सुनको भाउ पनि फेरि बढ्न थालेको छ । पछिल्ला केही दिनयता सुनको भाउ ९० देखि ९२ हजार रुपैयाँको हाराहारीमा पुग्ने गरेको छ । विवाहको लगन आएसँगै गएको चैतदेखि यही वैशाख पहिलो हप्तासम्म दैनिक सुनको कारोबार बढेर २५ देखि ३० किलो पुगेको थियो । तर कोरोनाको जोखिम बढेपछि अहिले कारोबार शून्य जस्तै छ । 

आज सुनको भाउ तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । विश्वमै कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले ‘पर्ख’ र ‘हेर’ को अवस्थामा रहेको व्यवसायीले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया