'बीआरआई' मा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
मंसिर १०, २०८१ सोमबार
नवलपरासी - एक वर्ष अगाडिसम्म बायाँ खुट्टा लतारेर हिँड्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का हुमनाथ पोखरेल अहिले ठमठमी हिँड्न थाल्नुभएको छ । गोठालो जाने क्रममा लडेर उहाँको भाँचिएको हात निको भए पनि त्यसपछि खुट्टा लत्रिने समस्या देखापरेको थियो । चितवनका विभिन्न अस्पताल पुगेर उपचार गर्दा पनि निको नभएको खुट्टा लत्रिने समस्या प्राकृतिक चिकित्सा पद्धतिबाट उपचारपछि निको भएको पोखरेल बताउनुहुन्छ ।
'खुट्टामा भएको एउटा नसाका कारण खुट्टा लत्रिएको रहेछ, अन्य चिकित्सा विधिबाट उपचार हुँदा निको नै भएन, प्राकृतिक चिकित्सालयमा ४५ दिन बसेर उपचार गराएपछि अहिले ठीक भएको छ', पोखरेलले भन्नुभयो, 'चिकित्सालयमा गरिने उपचार पद्धति, योग, प्राणायाम, थेरापीका माध्यमबाट मेरो खुट्टाको समस्या ९० प्रतिशत समाधान भएको छ ।'
सुरुमा प्राकृतिक चिकित्साप्रति खासै चासो नदिएको भए पनि अहिले आफ्नो समस्या समाधानपछि भने अब विश्वास बढेको उहाँले बताउनुभयो । उहाँ ४५ दिनसम्म चिकित्सालयमा बसेर सिकेको अभ्यासहरु अहिले आफैँले घरमा पनि गर्ने गरेको बताउनुहुन्छ ।
त्यस्तै कास्कीको पोखराकी ३५ वर्षीया दुर्गा सिग्देल नसा च्यापिएको समस्या समाधानका लागि सुविधानसम्पन्न भनिएका अधिकांश अस्पताल पुग्नुभयो । निको नभएपछि लामो समय ओछ्यानमा पर्नुभयो । रजहरको प्राकृतिक चिकित्सालय पुगेपछि सुधार आएको उहाँ बताउनुहुन्छ ।
'स्नाकोत्तर पढेको मान्छे नसा च्यापिएको समस्याले गर्दा ओछ्यानमा मात्र बस्नुपर्दा जीवनदेखि हार मानेकी थिएँ', उहाँले भन्नुभयो, 'पोखरा र काठमाण्डाैलगायतका सबै अस्पताल पुग्दा पनि निको नभएको मेरो समस्या सामुदायिक प्राकृतिक चिकित्सालयमा आएपछि निको हुँदै आएको छ, अब निको भएर केही गर्छु भन्ने ऊर्जा बढेको छ ।'
काठमाण्डाै घर भएकी मुना ज्ञवालीले बितेका चार वर्षसम्ममा उपचारका लागि विभिन्न अस्पतालमा धाउनुभयो । वर्षौँदेखिको शरीर चिलाउने उहाँको समस्या समाधान भएन । एकजना साथीको सल्लाहअनुसार उहाँ सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुग्नुभयो । त्यहाँ पुगेको १५ दिनमा सकारात्मक परिवर्तन देखिएको ज्ञवालीको भनाइ छ ।
उहाँले भन्नुभयो, 'चार वर्षअघि शरीरको सबै ठाउँमा चिलाउने गथ्र्यो, यो समस्या लिएर ठूलासाना सबै अस्पताल पुगेँ, तर निको भएन, औषधि खाने बेलासम्म ठीक भएजस्तो हुने औषधि सकिएपछि फेरि उस्तै, अहिले भने ठिक भएको छ ।' अस्पतालमा धाएर जति औषधि खाँदा पनि निको नभएपछि जीवनबाट आश मार्नुभएका उहाँका लागि सामुदायिक प्राकृतिक चिकित्सालय रजहर वरदान नै साबित भयो ।
'क्यान्सर हो कि भनेर छाला काटेर पनि दिएँ तर केही पत्ता लागेन', उहाँले भन्नुभयो, 'अब मेरो जीवन यस्तै हो भनेर हार मानेर बसेकी थिएँ तर अहिले निको भएको छ ।' प्राकृतिक चिकित्सालयमा उपचार सुरु गरेपछि १५ दिनमा नै परिवर्तन पाएको उहाँले बताउनुभयो ।
आठ वर्षअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ मा रहेकाे रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको हो । यहाँ प्राकृतिक रूपमा उपलब्ध आकाश, वायु, अग्नि, जल र पृथ्वीका माध्यमबाट उपचार गरिने सामुदायिक प्राकृतिक चिकित्सालयका मेडिकल अधिकृत आजात पुरी बताउनुहुन्छ । प्राकृतिक रूपमा हुने उपचार विधिले धेरै रोग निको हुने उहाँको भनाइ छ ।
रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयबाट अहिलेसम्म करिब २५ हजारभन्दा बढीको उपचार भएको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक चिकित्सक विनोद पौडेलले बताउनुभयो । दश बिघा क्षेत्रफलमा रहेको चिकित्सालयमा बिरामीका लागि छुट्टै छ बिघामा जैविक तरकारी खेती र दूधका लागि गाई पनि पालिएको उहाँले बताउनुभयो । यदि खानपान, व्यायामलगायत जीवनशैली परिर्वतन मात्रै गर्न सके कयौँ रोग लाग्नै नसक्ने पौडेलको जिकिर छ ।
एलोप्याथिक उपचार पद्धतिबाट निको नभएकाहरू स्वास्थ्य समस्या समाधानका लागि धेरै ठाउँमा भौँतारिने गरेका हुन्छन् । पछिल्लो समय उपचारको विकल्पमध्येमा नवलपुरको रजहरमा रहेकाे सामुदायिक प्राकृतिक चिकित्सालय पनि पर्ने गरेको छ । प्राकृतिक चिकित्सा पद्धतिमा शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक विषयलाई रचनात्मक रुपमा तालमेल बनाएर उपचार गर्ने गरिन्छ ।
प्राकृतिक चिकित्सा पद्धति पूर्वीय दर्शनसँग आधारित रहेको र यो परापूर्वकालदेखि अपनाइएको चिकित्सा विज्ञान भएकाले यसको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्नुपर्ने डा पौडेलको भनाइ छ । पछिल्लो समय प्राकृतिक चिकित्सातर्फ नागरिकको विश्वाससमेत बढेको पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।