भ्याट बुझाउने समय थप्न उद्योगी–व्यवसायीको निवेदन, अर्थ मन्त्रालय छलफल गर्दै

 बैशाख २४, २०७८ शुक्रबार १४:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ ।

भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थपको निर्णय मन्त्रालयबाटै हुने आचार्यको भनाइ छ ।

निषेधाज्ञाकै बीचमा पनि भ्याट सङ्कलन भने उत्साहजनक रहेको उहाँले बताउनुभयो । ‘यो व्यावहारिक समस्या हो, हामीकहाँ आएका निवेदन अर्थमा पठाएका छौँ, उद्योगी–व्यवसायी अर्थ मन्त्रालयमै पुग्नुभएको रहेछ, मन्त्रालयले पक्कै केही छलफल गर्ला’, आचार्यले भन्नुभयो । 

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि मन्त्रालयमा निवेदन आएको जानकारी दिँदै छलफलकै क्रममा रहेको बताउनुभयो । 

गएको वर्ष लकडाउनका कारण समस्यामा परेको भन्दै फागुन र चैत महिनामा बुझाउनुपर्ने भ्याटलाई पनि जेठको २५ गतेसम्म पुर्‍याइएकाे थियो । 

लक्ष्यअनुसार सङ्कलन भइरहेको दाबी

आन्तरिक राजस्व विभागको सङ्कलन तथा राजस्व प्रक्षेपण शाखाका शाखा अधिकृत भीमप्रमास देवकोटाले निषेधाज्ञाको बीचमा पनि भ्याट सङ्कलन बढिरहेको र लक्ष्य प्राप्तिको बाटोमा रहेको बताउनुभयो । 

‘चैत महिनामा नौ अर्ब ६६ करोड रुपैयाँ भ्याट उठाउनुपर्नेमा २४ गते दिउँसोसम्म पाँच अर्ब ७४ करोड रुपैयाँ सङ्कलन भइसकेको छ, अन्तिम दुई दिन राजस्व बुझाउनेहरू निकै धेरै छन्’, देवकोटाले भन्नुभयो ।

यो आर्थिक वर्षका लागि भ्याटको लक्ष्य एक खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा आजसम्म ९१ अर्ब २९ करोड रुपैयाँ उठेको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया