कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशतले गिरावट

 वैशाख २५, २०७८ शनिबार १५:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काेराेना रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो ।

तरकारी कम आएको भए पनि मूल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउने बित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमी आएकाले मूल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमी आएको छ । सर्वसाधरणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५० प्रतिशतले गिरावट आएको बताउनुभयो । उहाँले सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको बताउनुभयो ।

अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौका लगायत माैसमी तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ । समितिले स्थानीय तहसँगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद बिक्रीका लागि भने राति १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया