इजरायलको आकाशमा बम बर्सियो, म झ्यालबाट हेरिरहेँ, परिवार सम्झिरहेँ

 बैशाख २९, २०७८ बुधबार १३:२:५९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

कमला पाण्डे तिवारी /हाल, इजरायल ।

भन्न त भन्छन् परदेश हुँदैन सधै बेस । डर पनि अनेक हुन्छन् । मैले एउटा अनौठो डरको महसुस गरेँ ।

यहाँ इजरायल र प्यालेष्टाइनबीच युद्ध चलिरहेको छ । म एक हाउसमेडका रूपमा काम गर्छु । घर परिवार छोडी परदेश लागेको पनि धेरै समय भइसक्यो । यहाँ काम गर्दा बम बारी भएको भिडियोहरू मोबाइलमा हेरेको थिए । तर प्रत्यक्ष त्यसको सामना गर्नुपर्ला भनेर कहिले पनि सोचेको थिइनँ । जुन आज प्रत्यक्ष देखेँ र त्यसको डर भोगेँ पनि । 

आकाशमा आगोको मुस्लो देखियो । आकाशमा आगोको मुस्लो देख्दा मन असाध्यै डरायो । मै माथि आएर त्यो मुस्लो खस्छ कि झैँ लाग्यो ।  अँध्यारो भएकाले पनि आकाशमा एउटा उज्यालो आगोको मुस्लो प्रस्ट देख्न सकिन्थ्यो । 

आफूमाथिको आकाशमा बम पड्किँदा सुत्न सक्ने अवस्था पनि थिएन । सुरक्षा अवस्था ठिक भए पनि डर त लाग्दो हरेछ । म बस्ने भवन मुनी सुरक्षाका लागि बगकर पनि छ । सबै सुरक्षा व्यवस्था हुँदा पनि मन भने असाध्यै डराइरह्यो । 

घर परिवारको सम्झनाले मन अमिलो भयो । साथीभाइसँग सम्पर्क थियो । उनीहरूले धैर्यताका साथ बस्न भन्दै मलाई सम्झाइ रहेका थिए । तर मन त हो कहाँ मान्दो रहेछ र । भन्न जस्तो आफूलाई पर्दा सम्हाल्न गाह्रो हुँदो रहेछ । आफूलाई नपर्दा सम्म त मलाई पनि केहीजस्तो लाग्दैन थियो । तर आफ्नै आँखा अघिल्तिर यो दृश्य सम्हाल्न गाह्रो रहेछ । मनमा अनेक कुराहरू खेल्दो रहेछ । परदेश किन आएछ भनेर पछुतो लाग्यो । घरमै भएको भए मरे पनि सजिलै हुन्थ्यो जस्तो लाग्यो ।

एक त डरले निदाउन सक्ने अवस्था थिएन । अनि अर्को चाहिँ कति बेला साइरन बज्ने हो भनेर चनाखो पनि बस्नुपर्ने भयो । किनकि साइरन बज्यो भने बगकर तिर दौडनु पर्ने हुन्छ ।

साइरन बजेकै छैन, म सुरक्षित छु भनेर मनलाई बुझाउन खूब कोसिस गरेँ । तर पनि मन सम्हाल्न गाह्रो भयो । झ्यालबाट घरीघरी आकाशतिर हेर्छु, आगोको मुस्लो देख्छु । छोराछोरीलाई फोन गर्छु अनि बल्ल मन शान्त हुन्छ । 

छोराछोरीको अनुहार देख्दा पनि मन अमिलो हुन्छ । आफ्नो देशमा गरिखाने मेलो मिलेको भए आज किन यहाँ बसेर मन मनै रुन पथ्र्यों र जस्तो लाग्यो । 

तर  जस्तो सुकै अवस्था आए पनि गर्न के सकिन्थ्यो र ? छोराछोरीको अगाडि हाँस्ने कोसिस गरेँ । उनीहरू मेरो अनुहार पढिरहेका थिए । केही भन्न मात्र सकिरहेका थिएनन् । 

फेरि जोडसँग कानमा एउटा डरलाग्दो आवाज ठोक्कियो । छोरीसँग हतार हतार फोन राख्न भने । झ्यालबाट हेरेँ सायद आकाशमै बम डिस्पोज भयो । 

लडाई के का लागि होला त्यसतर्फ मेरो ध्यान गएन । म त बस मेरो परिवारको सम्झना र परदेशी आमा हुनुको पीडामा छटपटाइरहेकाे थिए । बम पड्की रहेको थियो । केही समयमा त आवाज पनि नर्मल लाग्न थाल्यो । आँखा चिम्म गरेँ । निदाउन कोसिस गरेँ । तर म मेरा प्राणभन्दा प्यारा बालबच्चा र घर परिवारको यादले निदाउन सकिनँ । 

प्रस्तुती :  नारायण कोइराला ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया