‘विश्वासकाे मत नलिइकन पूर्ण बजेट ल्याउन मिल्दैन’

 जेठ ४, २०७८ मंगलबार १३:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको हो । उहाँले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताउनुभयो । 

नेता महतले भन्नुभयो, ‘फुल फेज वार्षिक बजेटका लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाँडै नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिइकन आउँदाे आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन ।’

सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताउनुभयो । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेटअघिको प्रि–बजेट छलफल पनि जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘विधिपूर्वक प्रि–बजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेस गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन । त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो । विश्वासको मत नलिइकन बजेट पेस गर्नुपर्ने अवस्था आयो भने आन्तरिक बजेट/काम चलाउ बजेट पेस गर्ने । राजस्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरू पनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरूलाई निरन्तरता दिने गर्नुपर्छ ।’

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उहाँले अन्य राजनीतिक पार्टीसँग पनि छलफल गरेर अन्तरिम/कामचलाउ बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया