कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ - बेलायत

 जेठ १७, २०७८ सोमबार १२:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ । अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गर्नुभएको छ । भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने समस्याहरु रोक्न पनि कोरोना भाइरसको उत्पत्तिबारे तथ्यहरु सार्वजनिक हुनुपर्ने मन्त्री जहावीले बताउनुभएको छ ।

अमेरिकाले लामो समयदेखि कोरोना भाइरस वुहानको एउटा प्रयोगशालाबाट बाहिरिएको दाबी गर्दै आएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ९० दिनभित्र अनुसन्धान प्रतिवेदन दिन जासुसी संस्थालाई निर्देशन दिइसक्नुभएको छ। चीनले भाइरस प्रयोगशालाबाट बाहिरिएको कुरा अस्वीकार गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि वुहानमै पुगेर गरेको अध्ययनपछि भाइरस प्रयोगशालाबाट बाहिरिएको हुन नसक्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया