प्रकृतिसँग लय मिलाउँदै पाँचपोखरी यात्रा

 भदौ १०, २०७५ आइतबार ११:७:२४ | अशाेक काेइराला
unn.prixa.net

प्रकृतिले सित्तैमा सजाएको एउटा अनुपम भू–सौन्दर्य, पाँचपोखरी । वरिपरी दुवोको चौर, बीचमा पाँचवटा पोखरी । एक छेउमा शिव पार्वतीको मन्दिर । छिन छिनमै परिवर्तन भैरहने मौसम । ठूलाठूला पहाडका खोँचबाट प्रकृतिसँग लय मिलाउँदै बग्ने खोला । विशाल घाँसे मैदान अनि वनैभरी फूलेका रंगीविरंगी फूल ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने यो ठाउँ समुद्र सतहबाट ४ हजार १ सय मिटर उचाइमा रहेको छ । हिन्दुहरुको तीर्थस्थल मानिने पाँचपोखरी तालमा विषेशगरी जनैपूर्णिमामा मेला लाग्ने गर्छ । 

उचित प्रचार–प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तब्यस्थल बन्न सकेको छैन । तर पछिल्लो समयमा पाँचपोखरी यात्रामा जाने आन्तरिक पर्यटकहरु केही मात्रामा बढ्दै गएका छन् । 

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची बजार पुग्दा हाम्रो पहिलो दिनको यात्रा लगभग आधा भैसकेको थियो । मध्यान्हको चर्को गर्मीमा मेलम्चीमा एकैछिन थकाइ मारेपछि हामीले यात्रा अगाडि बढाउने निर्णय गर्यौँ । 

काठमाडौंबाट पाँचपोखरी थाङपाल गाउँपालिकाको छिम्तीसम्म मोटरबाटो भए पनि वर्षायाम र कच्ची बाटो भएकाले हामीले मेलम्चीदेखि सुरु गर्यौँ पैदल यात्रा । मेलम्चीदेखि छिम्तीसम्मको यात्राका लागि बाटोको अवस्था र बाटोमा खानपिनका राम्रो व्यवस्था रहेछ । 

मेलम्चीदेखि इन्द्रावती खोलाको किनारै किनार सुसाइरहेको खोलामा लय थप्दै हामी अघि बढीरह्यौँ । बीचबीचमा इन्द्रावतीमा मिसिएको ठाडो खोल्सामा तस्बिर खिच्दै, पहिलो दिनको यात्रा हामीले भोताङमा गएर टुङ्ग्याउने निर्णय गर्यौँ । 

यात्राको दोस्रो दिन छिम्तीसम्म मोटरबाटो हिँडेपछि सुरु भयो जंगलैजंगलको उकालो बाटो । ठाडो बगिरहेको खोला र त्यहाँको मनमोहक दृश्यले हामीलाई मन्त्रमुग्ध बनाइसकेको थियो । आन्तरिक तथा धार्मिक पर्यटकहरुको बाक्लै भिड लागेको थियो । सबै आफ्नै तरिकाले सुन्दर दृश्यलाई पृष्ठभूमि बनाउँदै तस्बिर खिच्न र खिचाउनमा मस्त देखिन्थे ।

पहाडको टुप्पामा पुग्दै फेरि झर्दै र फेरि उक्लिँदै हामी हिँडिरह्यौँ । देउराली र टुप्पीडाँडामा बास बस्ने सामान्य व्यवस्था रहेको हामीले थाहा पाएपछि टुप्पीडाँडामा बास बस्ने निर्णय गर्यौँ । पाँचपोखरी यात्रामा हिँडेका अन्य मानिस र पाँचपोखरी पुगेर फर्किएका अन्यसँग आआफ्नो यात्राको बारेमा वर्णन गर्दै हामीले दोस्रो रात पनि बितायौँ । 

भोलिपल्ट बिहान कहिले उकालो, कहिले ओरालो, खोँच, गल्छि, चिसो पानी बग्ने खोल्सा तर्दै, खोल्साका पानी पिउँदै, थरीथरीका फूल फूलेका चौरका दायाँबायाँ भेडी गोठहरु नियाल्दै, भेडीगोठमा भेटिएका गोठालाहरुलाई बाटो सोध्दै हामी अघि बढीरह्यौँ ।

यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिने रहेछ । ठाडो उकालो बाटो हिँड्न निकै गाह्रो भैरहेको थियो । छिनमै पानी पर्थ्यो, छिनमै मौसम खुल्थ्यो । मौसम खुलेको बेलामा देखिने पहाड, डाँडा अनि त्यहाँका ठूला ठूला आकारका ढुंगाले थकान भुलाउँथ्यो ।

छिनछिनमै पाँचपोखरीको चरित्रमा भैरहने प्राकृतिक फेरबदलले पनि छुट्टै किसिमको आनन्द दिन्थ्यो । बिहानै सूर्य उदाउँदा टलटल टल्किने, एकैछिनमा आकासका बादलसँगै पौडी खेल्ने र झर्र झर्र झरी पर्ने फेरि खुल्ने, फेरि पर्ने यहाँको विशेषता नै रहेछ ।

पर्यटकीय महत्वको पोखरी, सुन्दर पाखा, महादेवको मन्दिर, विभिन्न थरीका गुराँस तथा ऋतु अनुसार फुल्ने सयौं थरिका फूल, बाह्रै महिना हरियाली वनजंगलले पनि पाँचपोखरीको सोभा बढाइरहेको थियो ।

यात्राको तेस्रो दिन हामी पाँचपोखरी पुग्यौँ । पाँचपोखरीमा बास बस्नका लागि सामान्य होटल पाइने रहेछ । पाँचपोखरी रहेको ठाउँकबाट एकघण्टाको ठाडो उकालो चढेपछि त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । त्यो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्नुका साथै पाँचैवटा पोखरी र त्यो क्षेत्रको एकैपटक अवलोकन गर्न सकिन्छ ।

पाँचपोखरीमा पुगेर यी दृश्यहरु हेर्दा यात्राभरका सबै दुःख एकपलमै बिर्सियो । चिसो हावा, पहाड र हिमालको काख, हरयिाली वातावरण र एकै ठाउँमा देखिने पाँच पोखरी । सबै पोखरीमा नीलो आकाश र त्यसका बादलहरू ऐनाजस्तै सजिएका थिए । 

पोखरीको औधि चिसो पानी छामेर केही साथी नुहाउन सकिँदैन भन्ने निर्णय गर्न थाले । एकैछिनको घुमफिरपछि पोखरीको चिसो पानीमा हामी सबैले आँट गरेर नुहाउने निर्णय गर्यौँ । 

पाँचपोखरी वरपर हामीले चार घण्टाभन्दा बढी फेरो लगायौँ । यो आनन्द यहाँ आइपुग्ने जो कोहीले पनि जीवनभर बिर्सन सक्दैन । 

धार्मिक विश्वास 

पाँचपोखरीमा भएको पाँचवटा पोखरीलाई हिन्दुधर्मावलम्बीहरुले भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नागकुण्ड नाम दिएका छन् ।

पाँचपोखरी मन्दिरको स्थापना २३ सय वर्षअघि नै एकजना सिकारी बुम्बा रुवा वाइबाले स्थापना गरेको पाँचपोखरीमा रहेको शिलालेखमा उल्लेख गरिएको छ । 

सिकारी वाइवा सिकार खेल्न जाने क्रममा हिउँ पर्ने ठाउँमा धान रोप्दै गरेको दृश्य देखेपछि उनी नजिक पुग्दा महादेव नै देखिएको र उनले देख्ने वित्तिकै महादेवसहित सम्पूर्ण खेताला त्यहीबाट हराएको र त्यसपछि ती शिकारीले सिकारको साथमा ल्याएको कुकुरको घाँटीमा लगाएको घन्टी फुकालेर त्यहाँ मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती रहेको छ । 

पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दुध लिएर भक्तजनहरु चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजनहरु खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

तपाईको प्रतिक्रिया