गण्डकी प्रदेश : पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय, बजेट मुख्यमन्त्री पाेखरेलले नै प्रस्तुत गर्ने

 जेठ ३०, २०७८ आइतबार १३:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने हुनुभएको छ । पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नयाँ अर्थ मन्त्री नआइसकेकाले मुख्यमन्त्री पोखरेलले नै बजेट प्रस्तुत गर्ने निर्णय गरेको हो ।

प्रदेशमा जेठ १३ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । त्यसैको पूर्व सन्ध्यामा बजेट सार्वजनिक गर्ने जिम्मेवारी मुख्यमन्त्री पोखरेललाई नै दिइएको हो । अहिले अर्थ मन्त्रालयसहित सबै मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैँले राख्नुभएको छ ।

यसैबीच आजको बैठकले पूर्वमुख्यमन्त्रीलाई सम्मानजनक सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । अहिलेसम्म ऐन नबनेकाले मन्त्रिपरिषद्को बैठकले उचित निर्णय गरेर सम्मानजनक सुविधा उपलब्ध गराउने र त्यसबारे ऐन बनाएर अघि बढ्ने निर्णय भएको गण्डकी प्रदेश सरकारमा नवनियुक्त मन्त्री एवम् प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

यस्तै सरकारले जति सक्दो छिटो विश्वासको मत लिने तयारीसमेत गरेको छ । मुख्यमन्त्री र निवर्तमान मुख्यमन्त्रीबीच छलफल गरेर जति सक्दो छिटो विश्वासको मत लिने तयारी भएको प्रवक्ता खड्काको भनाइ छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार पोखरेल शनिवार (हिजाे) मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले  पोखरेललाई संविधानकाे धारा १६८ को उपधारा ५ अनुसार नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । यो व्यवस्थाअनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेलले पनि विश्वासको मत लिन सक्नुभएन भने गण्डी प्रदेश सभा विघटनको बाटो खुल्ने संवैधानिक व्यवस्था रहेको छ ।

आफू मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मुख्यमन्त्री पोखरेलले चार जना मन्त्री नियुक्त गरिसक्नुभएको छ । भागबण्डा नमिलेकाले चारै जना मन्त्रीले जिम्मेवारी भने पाउनुभएको छैन । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया