सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

 असार १, २०७८ मंगलबार १४:३२:३४ | रासस
unn.prixa.net

पर्वत – लगातारकाे वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । 

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । 

नदीको बहाव उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरू सुरक्षित ठाउँमा सामान सार्न व्यस्त छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचनासमेत डुबाएको छ, पराजुलीले भन्नुभयो । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरू पनि पूर्ण रूपमा क्षति पुगेको उहाँले बताउनुभयो । पानीको बहाव ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा समस्या भएको हो ।

देशकै सबैभन्दा ठूलो जलविद्युत् आयाेजना कालीगण्डएकी ‘ए’ को बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीवेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रमा झन्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन् । 

गएकाे ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया