मेलम्चीमा पानी नपर्दा पनि बाढी : कारण बुझ्न विज्ञको टोली जाँदै, हेलम्बुमा राहत पुर्याउनै मुस्किल

 असार ५, २०७८ शनिबार ८:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

‘पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो – ‘खोलाको शिर भाग अर्थात मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।’

मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने  हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

आज काठमाण्डौबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । 

हेलम्बुमा राहत पुर्याउन कठिन

मेलम्चीमा बाढी प्रभावितलाई अस्थायी बास र राहतको व्यवस्था मिले पनि हेलम्बुमा राहत पुर्याउन कठिनाइ भएको छ । बाढीले सडकसँगको सम्पर्कविच्छेद गरिदिएपछि हेलम्बुमा हेलिकप्टरबाट हिजो र अस्ति केही राहत सामग्री खसालिएको थियो ।  तर, यो पर्याप्त नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हेलम्बुका बाढी पहिरो पीडित कसरी बसिरहेका छन् भन्नेबारे नै पत्ता लगाउन गाह्राे भएको छ ।  हेलम्बु जस्तै पाँचपोखरीको याङ्ग्री र लार्के क्षेत्रमा पनि राहत पुर्याउन समस्या भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका-२ का वडा अध्यक्ष पासाङ तामाङ याङ्ग्री, टासिवा, सुनचौर रमैखर्कका ६८ परिवार बाढी पहिरोले विस्थापित भएको बताउनुहुन्छ । सडक सञ्जाल पनि विच्छेद भएपछि राहत पुर्याउनै मुस्किल भएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया