काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
म्याग्दी – म्याग्दीकाे रघुगङ्गा गाउँपालिका–२ भगवतीमा पर्ने राममन्दिर क्षेत्रमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।
घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द्व हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताउनुभयो ।
“यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौँ । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएको थियो,” उहाँले भन्नुभयो, “घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।”
रघुगङ्गाको ४९ लाख रुपैयाँ अनुदान सहयोग र स्थानीयवासीको १२ लाख रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।
खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ । आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताउनुभयो ।
“धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौँ पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो”, उहाँले भन्नुभयो, “अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौँ । सरसफाइ सुधार र दैनिकी सहज भएको छ ।”
वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले विसं २०७५ मा ५० लाख रुपैयाँ विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना शुरु गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।