अनलाइन कक्षाको सकस

 असार ११, २०७८ शुक्रबार १०:१३:४२ | अञ्जली खनाल
unn.prixa.net

‘म्याम, मलाई त घरमा बसेर पढ्न फिटिक्कै मन लाग्दैन भन्या ! ममी–बाबा यहीँ छेउमै बस्नुहुन्छ, हजुरहरूले पनि हेरिरहनुभएको हुन्छ । न हल्ला गर्न पाइन्छ, न साथीहरूसँग जिस्किनै पाइन्छ ! कस्तो खल्लो लाग्छ, मलाई त यो अनलाइन क्लास !’ मेरा एक विद्यार्थी उफ्रिँदै आफ्नो गुनासो सुनाउँदै थिए । ‘होइन म्याम, मलाई त अनलाइन क्लास नै मन पर्छ । न छिटो उठेर तयार हुनुपर्छ, न त कपाल नै कोर्नुपर्छ । न स्कुलको लुगा लगाएर भारी ब्याग बोकेर स्कुल जान बिहानैदेखि हतार नै गर्नुपर्छ । यसो उठ्यो, कापी, किताब पल्टायो, न भारी बोक्नको दुःख, न त कतै हिँड्नैपर्ने झन्झट ! मलाई त यो अनलाइन क्लास सारै मनपर्छ भनेको !’ 

मैले पढाउने कक्षा ५ मा एक दिन यस्तै चर्चा चलिरहेकै थियो । मेरा विद्यार्थी कसैले आफूलाई अनलाइन कक्षा सारै रमाइलो लाग्ने र कसैले चाहिँ अनलाइन कक्षा जेलको बसाइ जस्तो भएको प्रतिक्रिया दिइरहेका थिए । 

म आफूलाई पनि बच्चाहरूसँगै हुन रमाइलो लाग्ने भएको हुनाले होला, अनलाइन कक्षा कता कता के नपुगेको जस्तो लाग्छ । हुन त विद्यार्थीले भनेझैँ, न त बिहान उठेर तयार हुनुपर्ने झन्झट, न त कतै पुग्नुपर्ने चटारो ! समयको भरपूर बचत भए पनि कता कता एक किसिमको खल्लोपन सधैँ महसुस भइरहेको हुन्छ । 

यस किसिमको शिक्षा प्रणालीबाट दूरदराजका सुविधाविहीन विद्यालयका बालबालिका र सहरबजारका ‘स्मार्ट’ बालबालिकाले पाइरहेको ‘स्मार्ट’ शिक्षाबीच थप खाडल बढाउने निश्चित छ ।

सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोरोना भाइरसले हाम्रो देशलाई अहिलेसम्म पनि नराम्रोसँग जकडिरहेको छ । २०७७ सालको आधाभन्दा बढी शैक्षिक सत्र अनलाइनबाटै सञ्चालन भए पनि माघतिर पुगेर दुई–तीन महिना भने स्कुलमै उपस्थित भएर पढ्ने वातावरण बनेको थियो । तर, फेरि २०७८ को सुरुदेखि नै सरकारले जारी गरेको निषेधाज्ञाका कारण अहिले शिक्षक र विद्यार्थी कम्प्युटर या मोबाइलको स्क्रिनभित्र कैद भएर बस्नुपरेको छ । असार महिना सुरु भइसक्दा, कतिपय विद्यालय भर्खरै आफ्नो अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा छन् भने केहीले अनलाइन कक्षा अलि अघिदेखि नै सुरु गरिसकेका छन् । 

सानैदेखिको आफ्नो शिक्षण पेसाप्रतिको लगाबकै कारण भनुँ या परिआएको अवस्थाका कारण, मैले मेरो पढाइ सकिनासाथ, बालबालिकालाई पढाउन सुरु गरेकी छु । पहिला पनि मौका मिलेको बेलामा मैले विद्यालयमै उपस्थित भई विद्यार्थीलाई पढाउने अनुभव पाइसकेको हुनाले होला, मैले अनलाइन कक्षा र विद्यालमा हुने प्रत्यक्ष पठनपाठनमा शिक्षक र विद्यार्थीको भूमिकामा आकाश–जमिनको अन्तर भेट्टाएँ ।

यसो सोच्ने गर्छु, काठमाण्डौ नेपालको राजधानी भए पनि यहाँ बसोबास गर्ने आधाभन्दा बढी मान्छेसँग अहिले पनि राम्रोसँग चल्ने नेटको सुविधा छैन ।

भौतिक रूपमा विद्यालयमा लिइने कक्षामा धेरै बुझ्न सक्छन् भनेर हो कि वा विद्यालयमा पढेको मात्र पढेको हो, अनलाइनमा त के नै पढाउँछन् र भन्ने सोचले हो, अहिले काठमाण्डौमा इन्टरनेटको सुलभ व्यवस्था भएको ठाउँमा बस्ने कैयौँ अभिभावकले समेत विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराइरहेका छैनन् । विद्यालयमा ३० जनालाई पढाउने ठाउँमा अनलाइन कक्षामा भने आधाउधी विद्यार्थी पनि आइपुगेका हुँदैनन् । जति आइपुग्छन्, तीमध्ये आधाजतिले केही पनि सुनिएको छैन, म्याम ! तपाईंको आबाज नै आएन, म्याम ! मेरो नेट गएर फेरि ज्वाइन भएको, हजुरले के पढाउनुभयो म्याम ? भन्दाभन्दै पिरियड सकाउँछन् ।

कहिलेकाहीँ फुर्सदको बेला यसो सोच्ने गर्छु, काठमाण्डौ नेपालको राजधानी भए पनि यहाँ बसोबास गर्ने आधाभन्दा बढी मान्छेसँग अहिले पनि राम्रोसँग चल्ने नेटको सुविधा छैन । दुनियाँमा इन्टरनेटमै निर्भर भएर सारा सरकारदेखि सानो पसल व्यवसायसम्म चलिरहेका छन् । हाम्रो देशमा भने राजधानीमै पनि इन्टरनेटको पहुँच सबैतिर छैन । त्यसैले अहिले चलिरहेको अनलाइन कक्षा, समयको माग र आजको महामारीमा शिक्षाको भरपर्दो विकल्प भए पनि यस्ता कक्षाहरू कुन स्तरमा कसरी चलिरहेका छन् भन्नेतिर पनि ध्यान दिनुपर्ने देखिन्छ ।

गाउँघरतिरका सरकारी र सहरका निजी विद्यालयले दिने शिक्षाको गुणस्तरमा पहिलेदेखि नै गहिरो खाडल थियो । झन् अहिलेको यस कोरोना महामारीको समयमा अर्को विकल्प नभएका कारण अपनाउनुपरेको यस किसिमको शिक्षा प्रणालीबाट दूरदराजका सुविधाविहीन विद्यालयका बालबालिका र सहरबजारका ‘स्मार्ट’ बालबालिकाले पाइरहेको ‘स्मार्ट’ शिक्षाबीच थप खाडल बढाउने निश्चित छ । सहरकै निजी विद्यालयमा पढ्ने तर अहिले निषेधाज्ञाका कारण गाउँ पसेका विद्यार्थी पनि अनलाइन कक्षाबाट वञ्चित भइरहेका छन् भने गाउँघरकै विद्यालयमा पढ्ने विद्यार्थी र पढाउने शिक्षक त यी सब सुविधा र शिक्षा व्यवस्थाबाट निकै टाढै छन् । 

अलि अगाडि कक्षा ४ मा ‘पिरामिड’ भन्ने ‘सोलिड सेप’बारे वर्णन गरिरहेको वेलामा पिरामिड चाहिँ इजिप्टमा छ र त्यसभित्र ‘ममि’ देख्न सकिन्छ भनेर बताउँदा, विद्यार्थीले ‘म्याम, त्यहाँ मम्मी मात्र पाइन्छ कि, बाबा पनि पाइन्छ ?’ भनेर प्रश्न गरेका थिए । एकछिन पूरै कक्षा खित्का छोडेर हाँसिसकेपछि मैले त्यहीबेला नै इन्टरनेटमार्फत इजिप्ट अनि त्यहाँका पिरामिडमा हुने मम्मी र त्यहाँका अन्य कुराको वर्णन गरिएको भिडियो देखाएँ । यसरी कुनै विषयमा अस्पष्ट भयो भने तत्कालै नेटबाट सम्बन्धित विषयको तस्बिर या भिडियो देखाउन पाइने हुनाले अनलाइन कक्षा भौतिक कक्षाभन्दा कतिपय अर्थमा सहज पनि हुन्छ । 

अहिलेका ससाना बालबालिकालाई अनलाइन कक्षा पढाउँदा, एउटा शिक्षकले विद्यार्थीसँगै अप्रत्यक्ष रूपमा तिनका अभिभावकलाई समेत पढाइरहेको हुन्छ । 

कुनै विषयबारे विद्यार्थीलाई बुझाउनुपरेमा भिडियो अनि सूचना जानकारीको समुद्ररूपी इन्टरनेटमा पाइने अन्य सामग्रीको मद्दत लिएर वर्णन गर्न निकै सजिलो भएको छ अनलाइन कक्षामा । पहिले कक्षामा बाघबारे वर्णन गर्नुपरे, बढीमा बाघको तस्बिर मात्र देखाउन मिल्ने हुँदा, विद्यार्थीले बाघका बारेमा पूरै जानकारी पाउन कठिन हुन्थ्यो । अहिले अनलाइन कक्षामा हामीले बाघ जन्मिएदेखि मर्ने बेलासम्मका सबै जानकारी भएको एउटा भिडियो देखाइदिएको भरमा विद्यार्थीले सबै जानकारी पाउन सक्ने सुविधा हातमै आएको छ । 

अनलाइन कक्षामा विद्यार्थीलाई बुझाउन जतिसुकै सजिलो भए पनि कतिपय विषय भने बुझाउन निकै नै गाह्रो हुने पनि मैले महसुस गरेकी छु । गणितको कक्षामा प्रोटेक्टर चलाउन कक्षामा जसरी हरेक विद्यार्थीको बेन्चमा गएर उनीहरूकै कापीमा प्रोटेक्टरले नाप्न सिकाउन सकिन्थ्यो, त्यस्तो अनलाइनमा भने सकिएन । आफैँले पनि अनेकौँ किसिमको भिडियो बनाएर त्यस्ता विषय विद्यार्थीलाई बुझाउन कोसिस गरेकी भए पनि कतिपय कुरा विद्यालयमा पढाउन जस्तो सजिलो नहुने रहेछ अनलाइन कक्षामा ।

माथिल्ला कक्षामा पढ्ने विद्यार्थी आफैँ अहिलेको प्रविधिमा पोख्त छन् । उनीहरूलाई अनलाइन कक्षा लिन कुनै महाभारत पर्दैन । त्यहीँ, साना कक्षामा पढ्ने विद्यार्थीहरू, जसलाई फेसबुक, गुगल मीट, या जुम एप नै नौलो लागिरहेको हुन्छ । त्यसैले माथिल्लो कक्षाका विद्यार्थीका बुवाआमा सँगै नभए पनि साना कक्षाका विद्यार्थीका अभिभावक भने सधैँ उनीहरूकै वरिपरि नै बस्नुपर्ने हुन्छ । अहिलेका ससाना बालबालिकालाई अनलाइन कक्षा पढाउँदा, एउटा शिक्षकले विद्यार्थीसँगै अप्रत्यक्ष रूपमा तिनका अभिभावकलाई समेत पढाइरहेको हुन्छ । 

विद्यार्थीले त घरमा बसेर पढोस् या विद्यालयको कक्षाकोठामा, बुझे पनि नबुझे पनि बुझेँ म्याम भनिदिन सक्छ । तर, अहिलेको सन्दर्भमा विद्यार्थीले भन्दा पनि अभिभावकले नै प्रत्यक्ष मूल्यांकन गर्ने र शिक्षकले बोलेका हरेक शब्ददेखि उनीहरूका हरेक गतिविधिलाई नियालिराख्ने हुनाले शिक्षकहरूले जति विद्यालयमा पढाउन पूर्वतयारी गरिरहेका हुन्छन्, त्यसको कैयौँ गुणा बढी तयारी अनलाइन कक्षाका लागि गर्नुपर्ने देखिन्छ । 

अहिलेको समयमा कोरोना अब यो बेला चाहिँ सकिएला भन्ने कुनै टुंगो छैन । टाउको, पेट, ज्यान जे दुखेमा पनि हामीले प्यारासिटामोलले काम चलाएझैँ सरकारले कोरोना संक्रमण बढ्न थाल्न नपाउँदै लकडाउन या निषेधाज्ञा जारी गरेर सत्ता जोगाउन मारमुंग्री गर्नुको विकल्प देख्न छाडेको छ । राम्रो इन्टरनेट सेवा जोडेर आफ्ना सन्तानलाई पढाउने रहर हुँदाहुँदै पनि कैयौँ अभिभावक निषेधाज्ञाका कारण रोजगारी गुमाएको समयमा परिवारको भोकका अगाडि बालबालिकाको पढाइलाई बिर्सिन बाध्य भएका छन् । 

आफूसँगैको साथीले विदेश गएर मास्टर्स सक्काउने बेला भइसक्दा पनि आफू भने अझै स्नातक तहको अन्तिम परीक्षाको नतिजा कुरेर बस्नुपरेको छ ।

अहिलेको अवस्थामा जसरी सरकारसँग निषेधाज्ञा या लकडाउनको विकल्प छैन, अनलाइन शिक्षाको पनि  भरपर्दाे विकल्प छैन । सरकारले न यो एक वर्षमा लकडाउन गरेर घरमै बसी राम्रोसँग सबै कार्य सञ्चालन गर्न सकिनेगरी प्रविधिको विकास र वितरण मिलाउन सक्यो, न त नागरिकलाई अर्को विकल्प नै दिन सक्यो ।

अहिले महिनाको १६/१७ सय रुपैयाँ तिरेर महँगो इन्टरनेट जडान गर्नुपरिरहेको बेलामा सस्तो र भरपर्दो इन्टरनेट सेवाका नयाँ नयाँ विकल्प आइरहेका समाचार पनि आएका छन् । सायद, टेलिकम्युनिकेसनका क्षेत्रमा सेवा प्रदायक कम्पनीबीच बढ्दो प्रतिस्पर्धाले नेपालीका घरघर र हातहातमा मोबाइल फोन पुगेजस्तै आगामी दिनमा इन्टरनेट सेवा प्रदायक कम्पनीबीचको प्रतिस्पर्धाले सस्तो र गुणस्तरीय इन्टेरनेट नेपालीको घरघरमा पुग्ला कि ? 

कोरोना संक्रमणको असर यतिखेर कहाँ मात्र परेको छैन भनेर यसो सोच्दा कहाली लागेर आउँछ । आफूसँगैको साथीले विदेश गएर मास्टर्स सक्काउने बेला भइसक्दा पनि आफू भने अझै स्नातक तहको अन्तिम परीक्षाको नतिजा कुरेर बस्नुपरेको छ । बीबीएस तेस्रो वर्षमा पुग्नुपर्ने विद्यार्थी अझै पनि पहिलो वर्षकै परीक्षा दिन नपाएर बसिरहेका छन् । गत वर्ष कोरोनाले एक्कासि गरेको क्षति कसैले पनि सम्हाल्न सक्ने अवस्था थिएन । एक्कासि आएको यस लहरले हामी कुन रूपमा कमजोर छौँ भनेर त अघिल्लो वर्षमै छर्लंग भइसकेको थियो । तर, बीचमा त्यस ग्यापलाई भर्न मिल्ने समयमा पनि सरकारलाई भने आफ्नो कुर्सी बचाउ  गर्दैमा फुर्सद थिएन । आफ्नै सत्ता र कुर्सी बचाउन लागिपरेको सरकारबाट धेरै कुराको आश गर्नु सायद हाम्रै मूर्खता पो थियो कि ? 

अन्य क्षेत्रमा जति नोक्सान पुर्‍याए पनि, जति नोक्सान यो कोरोना महामारीले हाम्रो देशको शिक्षा क्षेत्रमा पुर्‍याएको छ, त्योभन्दा बढी सरकारप्रतिको हाम्रो आश र सरकारको हामीप्रतिको व्यवहारले यस क्षेत्रलाई तहसनहस पारिसकेको छ । र, यो अहिलेको अस्तव्यस्त प्रणालीले राम्रो जनशक्ति उत्पादनमा हामीलाई अहिले मात्र नभएर भविष्यमा पनि निकै ठूलो क्षति पुर्‍याउने निश्चित छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया