सङ्खुवासभाको भोटखोला र मकालुका नागरिकलाई भेराेसेल खोप लगाइँदै

 असार १२, २०७८ शनिबार १३:२:४५ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला र मकालु गाउँपालिकाका १० हजार नागरिकहरुलाई कोरोना विरुद्धको भेराेसेल खोप लगाइने भएको छ । 

चीनको तिब्बत प्रान्तको नेपालसँग सिमाना जोडिएको यस क्षेत्रका १८ वर्ष माथिका सम्पूर्ण नागरिकहरुलाई कोरोना विरुद्धको भेराेसेल खोप लगाइने भएको हो । चीन सरकारले भोटखोला र मकालु गाउँपालिका भित्रका १० हजार नागरिकलाई निःशुल्क रुपमा खोप दिने भएकाे स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

भोटखोला गाउँपालिकामा असार १३ देखि १५ गतेसम्म १९ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएका केन्द्रबाट खाेप दिइने भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्पू भोटेले बताउनुभयो । उहाँले १८ वर्षमाथिका सबै नागरिकहरुलाई आफ्नो परिचय खुल्ने कागजात बोकेर खोप केन्द्र पुगेर खोप लगाउन समेत अनुरोध गर्नुभयो ।

त्यसैगरी मकालु गाउँपालिकामा असार १३ देखि १८ गतेसम्म खोप दिइने मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताउनुभयो । उहाँले कोरोनाबाट जोगिन मकालुका सबै नागरिकलाई अनिवार्य खोप लगाउन अनुरोध समेत गर्नुभयाे । ‘आफूलाई पायक पर्ने खोप केन्द्रमा उमेर खुल्ने प्रमाणसहित सबैलाई अनिवार्य सहभागी भइ खोप लगाउन खबर गरेका छौँ।' अध्यक्ष पोख्रेलले भन्नुभयो ।

मकालु गाउँपालिकामा २४ ठाउँको खोप केन्द्रबाट भेराेसेल खोप लगाउने तयारी भइरहेको छ । भोटखोला र मकालु गाउँपालिकाका १८ वर्षभन्दा माथिका नागरिकहरुका साथै त्यहाँ कार्यरत रहेका कर्मचारी, सुरक्षाकर्मी, सम्पूर्ण शिक्षकलाई समेत खोप लगाइने भएको छ । निषेधाज्ञाका कारण भोटखोला गाउँपालिकासम्म जान नसक्ने भोटखोलावासीलाई मकालु गाउँपालिकाको नुम बजारमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता  रोशन श्रेष्ठले बताउनुभयो ।

चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन आमनागरिकहरुले उत्साहका साथ स्वास्थ्य केन्द्र आउन गाउँपालिका अध्यक्षहरुको आग्रह छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया