विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नुपर्ने

 असार २८, २०७८ सोमबार १२:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो साउन १ गते शुक्रवारदेखि अवैध मोबाइल बन्द गर्ने भएको छ । कर नतिरी सस्तोमा मोबाइल पाउँदैमा किन्नुभयो अथवा कतै भेट्टाएर आफैँ प्रयोग गर्न थाल्नुभयो भने त्यो मोबाइल बन्द हुने सम्भावना रहन्छ । विदेशबाट उपहारस्वरुप आएका मोबाइल भने नेपालमा दर्ता गर्नुपर्ने हुन्छ । 

प्राधिकरणकाअनुसार नेपालभित्रैका आधिकारिक बिक्रेताबाट किनेको मोबाइल पहिले नै दर्ता भैसकेको हुन्छ, फेरि दर्ता गर्नु पर्दैन । तर विदेशबाट ल्याइएका मोबाइल पहिले नै दर्ता नहुने भएकाले त्यस्ता मोबाइलको भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणले तत्कालका लागि अनलाइनबाटै दर्ता गर्न सक्ने सुविधा दिएको छ । nta.gov.np मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सकिन्छ । 

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको जानकारी दिनुभयो । कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन उहाँले आग्रह गर्नुभएको छ । पौडेलका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस अन्तर्गत हरेक मोबाइल कर्ताले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यस्तो नम्बर हरेक मोबाइलमा छुट्टाछुट्टै  हुन्छ । यस्तो दर्ता धेरैको पहिले नै भइसकेको हुन्छ । आफ्नो दर्ता छ की छैन भनेर थाहा पाउनका लागि पहिला आफ्नो आईएमईआई नम्बर कति हो भनेर थाहा पाउनुपर्छ । 

‘मोबाइल किन्दा मोबाइलको कभरमा नम्बर लेखिएको हुन्छ । यदि मोबाइलको कभर छैन भने मोबाइलमा *#06# बाट थाहा पाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेसन भन्ने ठाउँमा गएर मोबाइलमा देखिएको नम्बर इन्ट्री गर्नुपर्छ । त्यहाँबाट आफ्नो मोबाइल दर्ता भए वा नभएकोबारे हेर्न सकिन्छ । यदि दर्ता गरिएको छैन भने दर्ता गर्नु अनिवार्य हुन्छ’ उहाँले भन्नुभयो । 

नेपालमा अवैध रुपमा मोबाइल आयात हुने क्रम बढेपछि त्यसलाई रोक्नका लागि प्राधिकरणले नयाँ नीति ल्याएको हो । यस्तै गुणस्तरयुक्त मोबाइल नेपाल भित्रियोस् र हराएको मोबाइल खोजी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि नयाँ नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।

सिस्टममा समस्या आएर दर्ता गर्न पाइएन  भनेर धेरैको गुनासो आएकाले  प्राधिकरणले अहिले सञ्चालनमा आएका मोबाइल दर्ता नभए पनि तत्कालको लागि कुनै समस्या हुँदैन भनेर जानकारी गराइसकेको छ । यो सिस्टम राख्नका लागि नयाँ सफ्टवेयरहरु राख्ने काम भइरहेको पौडेलले जानकारी दिनुभयो । असार मसान्तसम्म सिस्टम तयार पारेर त्यसपछि दर्ताका लागि निश्चित समय दिने उहाँले बताउनुभयो । 

‘विदेशबाट उपहारमा ल्याइएका मोबाइल पनि दर्ता गर्नुपर्छ’

धेरै नेपालीहरु काम र जागिरको सिलसिलामा विदेशमा छन् । विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने चलन बढ्दो छ । सीमा क्षेत्रको भारतीय बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने गरिन्छ। त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ ।

विदेशबाट एक व्यक्तिले आफूले प्रयोग गरेकोबाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया