ब्राजिलमा कोरोना महामारी रोक्न महिलाको नेतृत्व प्रभावकारी : अध्ययन

 साउन १०, २०७८ आइतबार ११:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्राजिलमा गरिएको एउटा अध्ययनले महिला नेतृत्वमा भएका सहरमा कोरोना महामारीबाट धेरैको ज्यान जोगिएको देखाएको छ।

अध्ययनकर्ताले महिलाले नेतृत्व गरेका सहरमा कोभिडका कारण ४३ प्रतिशतसम्म कम मृत्यु भएको र अस्पतालमा ३० प्रतिशत कम मानिस भर्ना भएका दाबी गरेको बीबीसीले जनाएको छ । औषधि उपचारसँगै स्वास्थ्यका मापदण्डको पालना कडाइमा महिला नेतृत्व सफल भएकाे पाइएको हो। 

नाक र मुख छोप्ने मास्कलाई अनिवार्य पार्ने र ठूला जमघटमा प्रतिबन्ध लगाउने काममा महिला अग्रसर देखिएको अध्ययनकाे प्रतिवेदनमा उल्लेख छ । अध्ययन ब्राजिलका ५ हजार ५ सय नगरपालिकामध्ये ७ सय वटामा केन्द्रित भएको थियो । जहाँ सन् २०१६ को चुनावमा महिला र पुरुष उम्मेदवारकाबीच कडा प्रतिस्पर्धा भएकाे थियाे ।

औपचारिक तथ्याङ्कअनुसार महिलाले नेतृत्व गरेका ठाउँमा प्रति एक लाख जनसङ्ख्यामा ४३ दशमलव ७ प्रतिशत कम कोभिडका बिरामी पाइएको छ । 

पुरुषको तुलनामा ५ दशमलव ५ प्रतिशत बढी ठूला जमघटलाई रोकेको, अनिवार्य मास्क लगाउने काम सुनिश्चित गर्ने काममा महिला नेतृत्वहरु ८ प्रतिशत बढी अग्रसर देखिएका छन् । त्यस्तै अनिवार्य परीक्षणमा जोड दिन १४ प्रतिशत बढी अग्रसर भएको पाइएको छ ।

यसअघि पनि विभिन्न देशको नेतृत्व गर्ने न्यूजिल्यान्डका जसिन्डा आर्डर्न, ताइवानकी साई यीङ वेन र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुमै प्रभावकारी उपाय अपनाउँदै कोरोना भाइरसको प्रकोप थप फैलिन रोकेको भन्दै चर्चा कमाउनु भएको थियो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया