अमेरिकी उपविदेशमन्त्रीको चीन भ्रमण : आफ्नो नेतृत्वलाई बदनाम नगर्न बेइजिङको आग्रह

 साउन १२, २०७८ मंगलबार ६:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ । 

उहाँ नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ । अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको तिक्तता मेटाउनुपर्नेमा जोड दिनुभएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनप्रति विशेषतः मानवअधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गर्नुभएको छ । चीनको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अमेरिकाले आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको उल्लेख छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनले चीनको दुई दिने भ्रमण गर्नुभएको हो । धेरैले अमेरिका–चीनबीचको यो वार्तालाई धेरैले बाइडेन र सी जिनपिङबीच हुन सक्ने भेटको तयारीका रूपमा समेत लिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अमेरिकी उपविदेशमन्त्रीको चीनको भ्रमणअघि बेइजिङले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय गरेको थियो । हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले पनि यसअघि हङकङमा रहेकाे चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया