याे सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा

 साउन १५, २०७८ शुक्रबार १३:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँ कतै नचुक्न पनि आग्रह गर्नुभयो ।

विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । 

नेता थापाले भन्नुभयो, ‘कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशङ्का उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्दछ ।’

नेता थापाले सरकारलाई सफल बनाउन सिङ्गो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औँ महाधिवेशनको मिति तल–माथि नगर्न पार्टी नेतृत्वलाई दबाबसमेत दिनुभयो । ‘पार्टीको महाधिवेशनको तिथि–मिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ’, नेता थापाले भन्नुभयो, ‘विधानको त्याे व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उल्लङ्घन गर्न मिल्दैन ।’

नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीको विधानले केन्द्रीय कार्यसमितिबाट त्याे विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधानअनुसार चल्न नसकेको आरोप लगाउँदै उहाँले आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया