कोरोना महामारीको कारण विदेशमा बेखर्ची भएका झण्डै २ सय जनाले पाए बोर्डबाट क्वरेण्टीन खर्च

 साउन १५, २०७८ शुक्रबार १५:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण गन्तव्य देशमा बेखर्ची भएर अलपत्र परेका झण्डै २ सय जनालाई वैदेशिक रोजगार बोर्डले सहयोग गरेको छ ।

कोरोना महामारीको कारण गन्तव्य  देशमा बेखर्ची भएका, अलपत्र परेका झण्डै दुई सय जनालाई स्वदेश फिर्तीका लागि टिकट खर्च, क्वरेण्टीन, पीसीआर परीक्षण र घरसम्म जाने खर्च समेत उपलब्ध गराएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

महामारीको समयमा सम्बन्धित देशमा रहेका नेपाली नियोगको सिफारिसको आधारमा वैदेशिक रोजगार कल्याणकारी कोष र विभिन्न विकास साझेदार र गैरसरकारी सङ्घसंस्थाको सहयोगमा श्रमिकलाई सहयोग गरिएको उहाँले बताउनुभयो । 

‘नियोगले यो मानिस बेखर्ची हो भनेर सिफारिस गरेपछि कानुन अनुसार बोर्डको सचिवालय र मिल्दै नमिल्ने देखिएमा विकास साझेदार र गैरसरकारी संस्थासँग समन्वय गरेर भए पनि आवश्यक सहयोग उपलब्ध गराइएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो । 

कोरोना महामारीको कारण समस्यामा परेका श्रमिकको उद्धारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, विभाग, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घको समेत प्रतिनिधित्व भएको छुट्टै सरकारी समिति समेत बनाइएको छ । 

सरकारले कोरोना महामारीको बेलामा समस्यामा परेका र  फर्किएर आफ्नै खर्चमा क्वरेण्टीनमा बस्न नसक्नेलाई क्वरेण्टीन खर्च उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया