ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेट, द्विपक्षीय चासो र हितका विषयमा छलफल

 साउन १५, २०७८ शुक्रबार १८:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शुक्रवार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताउनुभयो । ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बीआरआई) को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो ।

चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनुपरेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गर्नुभयो । चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपालको विकासमा चीनले पुर्‍याएकाे सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्त्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त देश भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । चिनियाँ कम्पनीले जलविद्युतका क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उहाँले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।

चिनियाँ पावर कन्स्ट्रक्शन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्री ‘ए’ लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया