दार्चुला घटना : भारतीय एसएसबीले तुइन काटे/नकाटेकोबारे बेलुकासम्म प्रारम्भिक विवरण आउने

 साउन १६, २०७८ शनिबार ११:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

महाकाली नदीसँग बग्दै जाने बैतडी र कञ्चनपुर प्रहरीलाई पनि आवश्यक खोजीमा सहयोग गर्न भनिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि जयसिंह महाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाको दाबी छ ।

स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाबारे हिजो नै जानकारी गराएका थिए । लगत्तै भारतीय पक्षसँग कुरा गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँड पनि घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन हिजो बेलुका प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

निर्देशनपछि घटनाबारे बुझ्न आज बिहान दार्चुलाका प्रहरी नायब उपरीक्षक डीएसपी वीरसिंह धामीको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज बेलुकासम्म घटनाको प्रारम्भिक विवरण आउने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

सामान लिन भारतको बाटो हुँदै आइरहेको अवस्थामा तुइन तर्न लाग्दा एसएसबीले एक्कासी तुइन काटिदिएको स्थानीय विक्रम सिंह धामीले बताउनुभएको छ । 

नेपालतर्फको मालघाट र भारततर्फ जयकोट गस्कुमा स्थानीय बासिन्दाले वारपार गर्न तुइन राखेका थिए । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया